
विराटनगर । मानव अधिकार रक्षकहरूका लागि श्रमका आधारभूत सिद्धान्त तथा अधिकारसम्बन्धी ३ दिने तालिम विराटनगरमा सोमबारदेखि सुरु भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को प्राविधिक सहयोगमा तालिम सुरु भएको हो। राष्ट्रिय मानव अधिकार आयोगका सामूहिक अधिकार महाशाखा प्रमुख लोकनाथ बास्तोलाका अनुसार तालिमले मजदुरहरूको अवस्था, उनीहरूको आवाज कसरी उठाउने, र अधिकारका लागि कसरी काम गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षित गर्ने उद्देश्य राखिएको छ।
उजुरीको माध्यमबाट मानव अधिकार आयोगले गर्दै आएको कामको जानकारी दिँदै उनले यसका लागि सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य ढुंगेलले श्रम अधिकारलाई समावेशी सिद्धान्त र अन्तर्राष्ट्रिय महासन्धिसँग जोडिएको अधिकारको रूपमा प्रस्तुत गरे।
कार्यक्रम ७ वटै प्रदेशका ७७ जिल्लामा र स्थानीय तहसम्म विस्तार गर्ने योजना रहेको उनले बताए। आईएलओका नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सलोमन राजवंशीले श्रम अधिकारलाई सुनिश्चित गर्ने दायित्व सरकारले लिनुपर्ने भए पनि नेपालमा श्रम प्रशासन कमजोर भएकाले चुनौती रहेको उल्लेख गरे। त्यसैले मानव अधिकार आयोग र ट्रेड युनियनको सहकार्य आवश्यक भएको उनको भनाइ छ ।
आयोगको कोशी प्रदेश प्रमुख वीरबहादुर बुढामगरले पछिल्लो समय श्रमदाता र श्रमिकबीचको द्वन्द्व कम हुँदै गएको बताए । उनले तालिममा लगानीको वातावरण, श्रमिकको अधिकार र दायित्वका विषयमा गहन छलफल हुने बताए।
कार्यक्रममा आयोगका सम्प्रवर्धन विभाग प्रमुख नवराज सापकोटा, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल पत्रकार महासंघ कोशीका महासचिव हिमाकुमारी चेम्जोङ, समाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
























