
रंगेली । मोरङका ४ पालिकामा विभिन्न घटनामा परेर १ वर्षको अवधिमा १ सय २६ जनाको मृत्यु भएको छ । रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१–०८२ को हालसम्म आकस्मिक घटनामा १ सय २६ जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीको तथ्यांकले झुन्डिएर, विष सेवन गरेर, सवारी दुर्घटनामा परेर, पानीमा डुबेर वा अन्य आकस्मिक घटनामा परेर अकालमा ज्यान गुमाउनको संख्या बढ्दै गएको छ । पालिकामध्ये रंगेली र रतुवामाईमा मृत्यु दर सबैभन्दा उच्च देखिएको छ।
रंगेली र रतुवामाईमा ३७–३७ जना तथा सुनवर्षीमा ३० र धनपालथानमा २२ जनाको ज्यान गएको हो। मृत्युमध्ये धेरैजसो आत्महत्याका घटनाहरू छन्।
विशेष गरी झुन्डिएर आत्महत्या गर्नेको संख्या अघिल्ला वर्षको तुलनामा उल्लेख्य रुपमा बढेको रंगेली अस्पतालका मेडिकल अधिकृत डा. विप्लव कार्कीले जानकारी दिए । उनका अनुसार मानसिक स्वास्थ्य समस्या, पारिवारिक कलह, बेरोजगारी, लागुऔषधको दुर्व्यसन, आर्थिक संकट, सामाजिक अपमान र सम्बन्धविच्छेदजस्ता कारणले आत्महत्या गर्न बाध्य हुनेहरूको संख्या बढ्दो छ।
आत्महत्या गर्ने अधिकांश व्यक्ति लामो समयदेखि चिन्ता र अन्य मानसिक समस्याबाट ग्रसित भएको पाइएको डा. कार्कीले बताए । ‘हामीकहाँ आउने बिरामीमध्ये धेरैले आत्महत्या गर्नुभन्दा अगाडि सहयोग माग्ने प्रयास नै गरेको पाइँदैन । यो चिन्ताजनक अवस्था हो,’ उनले भने।
रंगेली नगरपालिकामा झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको संख्या उल्लेख्य रहेको छ । रंगेली प्रहरीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ मा रंगेलीमा मात्रै ३७ जनाको ज्यान गएको छ । जसमा अधिकांश आत्महत्या, दुर्घटना र अन्य आकस्मिक घटना रहेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीले बताए ।
उनका अनुसार पानीमा डुबेर, सवारी दुर्घटनामा परेर र विष सेवन गरेर मृत्यु हुने घटनाहरूमा गत वर्षको तुलनामा वृद्धि भएको देखिन्छ । सुनवर्षीमा ३० जना मृतकमध्ये झुन्डिएर आत्महत्या, सवारी दुर्घटना र घरेलु हिंसामा परेर मृत्यु हुनेको संख्या उल्लेख्य देखिन्छ। त्यस्तै, धनपालथानमा २२ जनाको मृत्यु हुँदा आत्महत्या र सडक दुर्घटना प्रमुख कारण भएको प्रहरीले जनाएको छ।
रतुवामाईमा रंगेली सरह ३७ जनाको मृत्यु भएको छ। त्यहाँ पनि आत्महत्याका घटनाहरू बढ्दो क्रममा छन्। प्रहरीका अनुसार, किशोर र युवा उमेर समूहकाले आत्महत्या गर्ने दर बढ्दो छ । जसमा सामाजिक बहिष्कार, पारिवारिक दवाव र नशालु पदार्थ सेवन गर्ने प्रवृत्ति मुख्य कारणका रूपमा देखिएको प्रहरीले जनाएको छ।
मेडिकल अधिकृत डा. कार्की भन्छन्, ‘मानिसमा अझै पनि मानसिक स्वास्थ्य समस्यालाई लुकाउने र उपेक्षा गर्ने प्रवृत्ति छ । धेरैलाई यस्ता समस्यामा परेपछि सल्लाह, उपचार वा सहयोग खोज्नुपर्छ भन्ने थाहा नै छैन।’ उनका अनुसार समाजमा आत्महत्यालाई अपराध वा लाजको विषयजस्तो रूपमा हेर्ने चलनले गर्दा पीडितहरू अझै बढी एक्लो महसुस गर्छन्।
उनले विद्यालय, समुदाय र सरकारी तहबाट मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, परामर्श सेवा, आपतकालीन सहयोग केन्द्र स्थापनाजस्ता कदम अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए । मोरङका ४ पालिकाको तथ्यांकले समाजमा आत्महत्या र अकाल मृत्युका घटनामा वृद्धि हुँदै गएको देखाउँछ । सरोकारवालाहरुका अनुसार आत्महत्या रोकथामका लागि परिवार, समाज, विद्यालय, स्वास्थ्य संस्था र प्रहरीको संयुक्त पहल आवश्यक छ।
मोरङका ४ स्थानीय तहमा आत्महत्या, दुर्घटना र अन्य आकस्मिक घटनाका कारण ज्यान गुमाउनेको संख्या बढ्नु चिन्ताको विषय बनेको सरोकारवालाहरु बताउँछन् । उनीहरुका अनुसार तत्काल ध्यान नदिए आत्महत्याको दर अझै बढ्ने संकेत देखिन्छ।

























