
काठमाडौं । लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ जना नेपाली विद्यार्थीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । अन्य २ जना अन्तर्राष्ट्रिय विद्यार्थी पनि सडक दुर्घटनामा परी घाइते भएका छन् ।
लुइसियाना राज्य प्रहरीले सवारी दुर्घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको शनिबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परी ज्यान गुमेको हो ।
राज्य प्रहरीका अनुसार यादवले चलाइरहेको गाडीमा ओलीसहित अन्य २ जना यात्रु सवार थिए । सवारी युएस हाइवे ८० मा भारी वर्षाको क्रममा सडकबाट चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि कारमा आगो लागेको थियो ।
प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूले सिट बेल्ट लगाएका थिए कि थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन ।
कारमा रहेका अन्य २ यात्रुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। एजेन्सी























