विराटनगरमा बढ्यो हरियो चुरा, पोते र मेहेन्दीको व्यापार (फोटोफिचर)

Share this
769shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार ३१, मंगलबार १४:३३

विराटनगर । साउनको आगमनसँगै कोशी प्रदेशको राजधानी विराटनगरमा हरियो चुरा, पोते र मेहेन्दीको व्यापार बढेको छ ।

बजारका पसलहरुमा हरियो चुरा, पोते र मेहेन्दी किन्ने महिलाहरुको भिड बढेको हो । मुख्य सडकदेखि भित्री गल्लीका पसलसम्म महिलाहरुको भिडले विशेष रौनक छाएको छ ।

हिन्दु धार्मिक परम्परासँग गाँसिएको साउन महिनाको सांस्कृतिक महत्वले गर्दा बजारमा महिला ग्राहकहरूको भिड बाक्लिँदै गएको छ । साउन लागेपछि विशेषगरी विवाहित महिलाहरूले हरियो चुरा, पोते, हरियो साडी तथा हातमा मेहेन्दी लगाउने परम्परा छ ।

पतिको दीर्घायु, दाम्पत्य जीवनमा सुख र परिवारमा समृद्धिको कामना गर्दै महिलाहरूले साउनभर हरियो रंगको प्रयोगलाई प्राथमिकता दिने गर्छन् । यही संस्कार र आस्थाले बजारमा महिलाको उत्साहजनक भिड देखिएको छ ।

विराटनगरका मेन रोड, ट्राफिक चौक, महेन्द्र चौक, रोडशेष लगायतका स्थानमा रहेका पसलहरूमा चुरा, पोते र मेहेन्दी किन्न आउने महिलाको संख्या दिनप्रतिदिन बढ्दो छ । कतिपय महिलाहरू परिवारका सदस्यसँगै सपरिवार किनमेलमा निस्किएका छन् भने केही युवतीहरू साथीभाइसँग मेहेन्दी र चुरा किनिरहेको दृश्यहरु देखिन्छन् ।

‘साउन सुरु हुने अघिल्लो हप्ता देखिनै चुरा र मेहेन्दीको माग अत्यधिक बढ्छ। यो समयमा बिक्री अन्य महिनाको तुलनामा बढ्ने गर्दछ,’ व्यापारीहरु भन्छन् । केही व्यवसायीहरूले भने रातिसम्म पसल खुला राख्नुपर्ने अवस्था आउने गरेको बताए ।

मेहेन्दी लगाउने कलाकारहरू पनि साउन लागेसँगै सडक छेउमा, गल्ली किनारमा र सौन्दर्य पार्लरहरूमा सक्रिय देखिन्छन् । उनीहरू हातमा विभिन्न रचना कोर्दै ग्राहक सन्तुष्ट पार्न व्यस्त छन् ।

साउन लागेपछि मुख्य बजारमा महिला लक्षित व्यापारहरू बढ्ने गर्छन् । विराटनगर बजारमा पनि साउन नजिकिएसँगै नयाँ उत्साह थपिएको छ ।

स्थानीय व्यापारीहरूको भनाइअनुसार अझ साउनको पहिलो सोमबारदेखि दोस्रो हप्तासम्म व्यापार उच्च बिन्दुमा पुग्ने अपेक्षा गरिएको छ। साउनको सांस्कृतिक र व्यापारिक उत्साहले विराटनगर बजारलाई जीवन्त बनाएको छ।

साउनमा विशेष गरी हरियो चुरा, पोते, पातलो साडी र मेहेन्दीको बिक्री निकै बढ्ने व्यापारीहरूले बताएका छन् । विवाहितदेखि अविवाहितसम्मले हरियो चुरा र मेहेन्दी किन्ने गर्छन् ।

हिन्दु धार्मिक परम्पराअनुसार हरियो रंगलाई समृद्धिको प्रतीक मानिन्छ । विवाहितदेखि अविवाहितहरुले साउन महिनामा हरियो चुरा, पोते, मेहेन्दी र हरियो पहिरन लगाउने चलन छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.