
पाँचथर । तमोर कोरिडोरको ट्रयाक निर्माणको क्रममा भएको लापरबाहीले पाँचथरमा खेत बाँझै रहने अवस्था आएको छ । १ दशकअघि निर्माण गरिएको ट्रयाकका कारण शिवादोभानमा खेतीपाती नै समाप्त हुने अवस्था आएको हो ।
कुम्मायक गाउँपालिका–४ स्थित शिवादोभानको फाँट सिँचाइको अभावमा उजाड हुँदै गएको छ । जसका कारण स्थानीयको जीविकोपार्जनमै संकटमा उत्पन्न भएको छ ।
सुरुमा ट्रयाक खोल्ने क्रममा क्षति पुगेको टारी कुलो सिँचाइ योजना त्यसयता पटक–पटक मर्मत भए पनि दीर्घकालीन समाधान हुन सकेको छैन । कुलो पुरिँदा करिब डेढ किलोमिटर लामो सिँचाइ प्रणाली पटकपटक अवरुद्ध भएको छ । जसले १ दर्जनभन्दा बढी परिवारलाई पूरै असर परेको छ ।
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले प्रत्येक वर्ष ट्रयाक खोल्ने, सतह मिलाउनेजस्ता कामका क्रममा माटो फाल्दा कुलो नै पुरिने क्रम दोहोरिएको स्थानीय पूर्णबहादुर सम्बाहाम्फेले बताए । ‘यसबीचमा सरकारले १५ लाख र निर्माण कम्पनीले २ लाख दिएर पक्की कुलो बनाइएको थियो,’ उनले भने, ‘तर, हरेक वर्ष ट्रयाक खोल्दा कुलो पुनः पुरिन्छ । यस्तो अस्थायी समाधानले केही फाइदा भएको छैन ।’
शिवादोभानको फाँट फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सिमाना क्षेत्रमा पर्छ । पहिले यही फाँटमा वर्षमा ३ बाली लगाइन्थ्यो । तर, सिँचाइ बन्द भएपछि मकैबाहेक अरु बाली लगाउनै नसकिएको र मकैको उत्पादन पनि घट्दै गएको फिदिम नगरपालिका–४ का ललितबहादुर सम्बाहाम्फेले बताए ।
‘पहिले आलु, तरकारी, कोदो, मकै सबै हुन्थ्यो,’ उनले भने, ‘अहिले त खेत बाँझै छ, त्यो पनि झाडी लाग्दै गइरहेको छ ।’ खेतीयोग्य जमिन बाँझिएसँगै स्थानीयको आयआर्जनको मुख्य स्रोतसमेत गुमेको छ ।
ललितबहादुरका अनुसार अहिले शिवादोभानका अधिकांश घरधुरीले दाउरा र पानीबाहेक सबै सामान बजारबाट किन्नुपर्ने अवस्था आएको छ । ‘अहिले खेतको उत्पादन शून्यप्रायः छ । पशुपालन पनि घटेको छ,’ उनले भने, ‘घरेलु उपभोगका लागि आवश्यक खाद्यान्नसमेत खरिद गर्नुपर्ने बाध्यता छ ।’
सिँचाइ प्रणालीको क्षतिका कारण फिदिम नगरपालिका–४ सरखण्डे, फिदिम–९ लुम्फाबुङ, कुम्मायक–४ रानीगाउँलगायत क्षेत्रका खोलासहितका खेत बाँझिएको स्थानीयले बताएका छन् ।
कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीको लापरबाहीले समस्या झन जटिल बनेको बताए । ‘हामीले पटक–पटक निर्माण कम्पनीलाई सचेत गराएका थियौँ । तर, बर्सेनि माटो कटान गरेर कुलोमा नै थुपार्ने काम हुन्छ,’ उनले भने ।
वडाध्यक्ष सम्बाहाम्फेका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ मा कुलो मर्मतका लागि गाउँपालिकाले २ लाख ५० हजार विनियोजन गरे पनि काम अहिलेसम्म सुरु हुन सकेको छैन । ‘सिँचाइ मर्मतको कुरा योजनामा मात्र सीमित छ । कार्यान्वयनतर्फ खासै चासो छैन,’ उनी भन्छन् ।
स्थानीयले अहिले वैकल्पिक स्रोतबाट सिँचाइको प्रयास गरे पनि स्थायी समाधान नहुँदासम्म शिवादोभान फाँट पुनः हराभरा हुने सम्भावना देखिँदैन । लगातारको उपेक्षा र असंवेदनशील योजनाका कारण किसानहरू दिनदिनै समस्याको खाडलमा झर्दै गएका छन् ।
अबको माग भनेको दीर्घकालीन पूर्वाधार निर्माण, सडक आयोजना र सिँचाइ योजनाबीच समन्वय रहेको स्थानीय बताउँछन् । उनीहरु भन्छन्, ‘सडक खोल्नु विकास हो भने सिँचाइ जोगाउनु जीवन रक्षा हो । विकास र जीवनबीच सन्तुलन अत्यावश्यक छ ।’

























