
विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति कमजोर हुने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन् ।
खाँडले पार्टी भित्रको अनुशासनको कारवाहीले प्रक्रियागत रुपमा कमजाेर रहेकाे बताए । “कुनैपनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण ब्यवहार गर्नुहुदैन । कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो । कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्तामात्र कमजोर हुदैन, पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।” उनले भने, “अनुशासन समितिले काम नै गरेन भन्ने देखिदै आएको थियो । पाँच जनाको समितिले गरेको कारवाहीसँगै समितिले त्यसको पुष्टि गर्नेछ । समितिले कार्वाहीको प्रतिवेदन केन्द्रीय समितिमा बुझाउला र त्यहाँ फेरि समीक्षा र छलफल होला।”
उनले पार्टीको १५ औं महाधिवेशन थप एक वर्ष लम्बिन सक्ने संकेत गरेकाछन् । “पार्टी विधानले चारवर्षभित्र महाधिवेशन हुनुपर्ने राखेको छ । विशेष परिस्थिती हुँदा एकवर्ष थपगरि पाँच वर्षसम्ममा गर्न सकिन्छ,’ उनले भने,’ विगतको ११ देखि १४ औं महाधिवेशनपनि एकवर्ष थप गरि गरिएको हो । त्यसैले अहिले हाम्रो १५ औं महाधिवेशनपनि पार्टीको सबै तहको कार्यकाल एकवर्ष थप गरि पाँचवर्ष भित्र हुनेछ।”
पार्टी संस्थापन वा पार्टी सभापतिसंगको दुरी बढ्दै गएको विषयमा उनले सभापतिलाई सहयोग गर्दै पार्टी बलियो बनाउने बताए ।
विराटनगरमा डा शेखर कोइराला निवासमा आएको विषय अर्थपूर्ण रहेको बताउँदै उनले भने, “पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ । यहाँ पहिले बीपी कोइराला, गिरीजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइरालापनि बस्नुहुन्थ्यो । कोइराला सम्झँदा मेयर नागेश कोइराला मात्र संझनु भएन । यहाँ सबै कोइरालालाई सम्झनुपर्छ । उहाँहरुसंग भावनात्मक सम्बन्ध छ। उहाँहरु हाम्रो लागि महामानव हो । निवासलाई पार्टीको गुटको रुपमा हेर्न हुदैन ।यो हाम्रो लागि धार्मिकस्थल गएझै पवित्रस्थल हो।”
























