
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जसपाले समर्थन फिर्ता लिएपछि सरकारकाे दुईतिहाइ गुमेको छ । राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा परेको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जना सांसदले समर्थन दिएका थिए । यो प्रतिनिधिसभाको दुई तिहाइ हो । तर, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि दुई तिहाइ बहुमत गुमेको हाे ।
३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै सत्तारुढ दल राष्ट्रिय सभामा अल्पमतमा परेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ ।
सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ । विपक्षमा रहेकाे माओवादी केन्द्रसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ ।
























