
काठमाडौं । सौरमान अनुसार साउन महिनाको पहिलो दिन पर्न आउने साउने अर्थात् कर्कट संक्रान्ति पर्व आज (बिहीबार) देशभर स्नान, दान, पूजा, परम्परागत औषधीय वनस्पतिको प्रयोग तथा आफन्तबीचको जमघटसहित उल्लासपूर्वक मनाइँदैछ ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन परेकोले आजदेखि दक्षिणायन सुरु हुने धार्मिक मान्यता रहेको छ । यही दिनबाट सूर्यको गति दक्षिणतिर लाग्ने विश्वास गरिन्छ । जसले गर्दा आजको दिन हिन्दु धर्मशास्त्रमा विशेष महत्वपूर्ण मानिन्छ ।
धार्मिक मान्यताअनुसार माघ १ गतेबाट सुरु हुने उत्तरायण र साउन १ गतेबाट सुरु हुने दक्षिणायन दिनलाई विशेष पर्वका रूपमा मनाउने परम्परा छ । साउनदेखि सूर्य दक्षिण दिशातर्फ गइरहने भएकाले यसलाई पवित्र परिवर्तनको समयका रूपमा पनि लिइन्छ । यही कारणले आजको दिन बिहानै स्नान गरी शरीर शुद्ध पार्ने, दानपुण्य गर्ने, परिवार, आफन्तजनसँग भेटघाट गर्ने चलन छ ।
साउने संक्रान्ति नेपाली समाजको परम्परागत कृषि संस्कृति तथा जनस्वास्थ्यसँग पनि गाँसिएको पर्व हो । धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार असार महिनाभरि खेतबारीमा काम गर्ने किसान, कृषक र श्रमिक वर्ग साउन १ लाई विश्राम, शुद्धि र सामाजिक मिलनको अवसरका रूपमा मनाउँछन् ।
असारमा खेतमा काम गर्दा लाग्ने हिलो र फोहोरका कारण छालासम्बन्धी रोग लाग्न सक्ने भएकाले आजको दिन विशेष रूपमा ‘लुतो फाल्ने’ परम्परा पनि प्रचलित छ । यस अवसरमा परम्परागत औषधीय महत्व बोकेको विभिन्न जडीबुटी तथा वनस्पतिहरू प्रयोग गरिन्छ ।
कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि वनस्पति प्रयोग गरी ‘कण्डारक’ नामक दुष्ट शक्ति वा राक्षसको प्रतीकात्मक रूपमा पूजा गरिन्छ र त्यसपछि अगुल्टो हानेर लुतो फालिन्छ । लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने आदि विशेष अनुष्ठान गर्ने चलन छ ।
यसले वातावरण शुद्ध बनाउने, नकारात्मक ऊर्जा हटाउने र शरीरलाई रोगप्रतिरोधात्मक बनाउने विश्वास गरिन्छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको आराधना गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ ।
विशेषतः महिलाहरूले साउनमा हरियो चुरा, हरियो सारी वा पोशाक तथा रातो पहिरन लगाउने गर्छन् । यो रंगशृङ्गारले प्रकृति, जीवन र प्रेमसँगको नाता देखाउँछ भन्ने धार्मिक मान्यता छ । साउन लागेसँगै बजारमा हरियो चुरा, टीका, राता पहिरन, श्रृङ्गार सामग्रीको व्यापारसमेत निकै बढ्ने गर्छ ।
साउने संक्रान्ति विशेष गरी नेपाली समाजमा स्वास्थ्य, सांस्कृतिक एकता, परम्परा र आत्मीयताको प्रतीक पर्वको रूपमा पुस्तौंदेखि मनाइँदै आएको छ । आजको दिन नेपाली समाजले आत्मीयजनसँग जमघट, रामरमाइलो र परम्पराको सम्मान गरेर बिताउने गर्छन् ।























