
काठमाडौं । नेकपा एमालेमा पदाधिकारीको संख्या घटाउने प्रस्ताव गरिएको छ । सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउने प्रस्ताव भएको हो ।
विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्ष राखिएको छैन ।
प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था ल्याइएको थियो । हाल वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल छन् ।
एमालेमा उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने प्रस्ताव गरिएको छ । प्रस्तुत प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछ ।
एमालेमा वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव छन् । केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव पनि अघि सारेका छन् ।
























