
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेकाे विधान महाधिवेशन प्रतिनिधि बन्न नपाउने भएकी छन् ।एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेपछि प्रतिनिधि बन्न नपाउने भएकी हुन् ।
बिहीबार बसेको एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै अब भण्डारीका लागि बाटो लगभग बन्द भएको हो ।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका साथीहरु आयोजकका हिसाबले जानुहुन्छ, तर उहाँहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न, विधान महाधिवेशनको प्रतिनिधि भनेको जो १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु हुुनुहुन्थ्यो, उहाँहरु मात्रै हुने विधानमै व्यवस्था छ।’
एमालेमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा सहभागी हुनबाट रोक्न सचिवालय बैठकले यो निर्णय गरेको हो । पार्टीको १० औं महाधिवेशनताका राष्ट्रपति रहेकी भण्डारीले केही समय अघिमात्र पार्टीको सदस्यता नवीकरण गर्दै एमालेमा फर्किएको घोषणा गरेकी थिइन् ।
























