
विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो पूर्ण बैठकले सांगठनिक सुदृढीकरण, नीतिगत अनुशासन र कार्यगत लक्ष्यका योजना सार्वजनिक गरेको छ ।
उक्त बैठकले विराटनगरको राजनीतिक सक्रियतामा नयाँ ऊर्जा थपेको दाबी गरिएको छ । असार २७ गते पार्टी कार्यालय पान्चालीमा पार्टीका महानगर अध्यक्ष बलराम गिरीको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्य एवं प्रदेश कमिटी सदस्य, महानगर इन्चार्ज पर्शुराम बस्नेतलगायत जिल्ला नेताहरूको उपस्थितिमा सम्पन्न बैठकले गरेका विभिन्न ११ बुँदे निर्णय सार्वजनिकसमेत गरिएको छ ।
बैठकमा हालसम्म सम्पन्न विविध गतिविधिको समीक्षासमेत गरिएको एमाले विराटनगर सचिव विज्ञान चापागाईंले बताए । उनका अनुसार ७६ औं कम्युनिष्ट पार्टी स्थापना दिवसमा विचार गोष्ठी, ३२ औं मदन–आश्रित स्मृति दिवसमा रक्तदान, गणतन्त्र दिवसमा वृक्षारोपण, मदन भण्डारीको जन्मजयन्तीमा वक्तृत्वकला प्रतियोगिता तथा राष्ट्रिय धान दिवसमा ब्रह्मपुरामा आयोजित रोपाइँ कार्यक्रमलाई बैठकले उल्लेखनीय सफलता र जनसहभागिताका रूपमा लिएको छ।
पार्टी र जनप्रतिनिधिबीचको दुरी घटाउने तथा पारदर्शी समन्वय कायम गर्ने उद्देश्यले सुरु गरिएको अन्तरसम्वाद कार्यक्रमलाई नियमितरूपमा हरेक ३ महिनामा वडा र महानगर तहमा आयोजना गरिने भएको छ । जनप्रतिनिधिका कामको प्रचारप्रसारमा पार्टी सक्रिय रहने र स्थानीय आवश्यकताअनुसार कार्ययोजना निर्माण गर्ने मार्गचित्र पनि प्रस्तुत गरिएको चापागाईं बताउँछन् ।
संगठित सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तल्लो तहसम्म पुर्याउने र वडागत रुपमा कम्तीमा कुल मतदाताको ३ प्रतिशत बराबर सदस्य विस्तार गर्ने रणनीति आधिकारिक कार्यसूचीमा राखिएको छ। संगठन निर्माणको निरन्तरताका लागि वडास्तरमा सदस्यता विस्तार गर्न वडा अध्यक्ष र सचिवको संयुक्त समन्वयमा अभियान अघि बढाउने निर्णय गरिएको जानकारी चापागाईंले दिए ।
बैठकबाट पार्टी विधान, केन्द्रीय लेखा आयोगको सर्कुलर र हालै सम्पन्न लेखा प्रशिक्षणका आधारमा जनप्रतिनिधिहरू तथा कमिटी सदस्यहरूको लेवी सम्बन्धी योगदान पनि स्पष्ट पारिएको छ। महानगर अध्यक्षले मासिक १ हजार रूपैयाँ, पदाधिकारीहरूले ५ सय, सचिवालय सदस्यहरूले ३ सयदेखि साधारण सदस्यसम्मले १ सय रूपैयाँ लेवी बुझाउनुपर्ने निर्णय भएको छ । उक्त रकम महानगर कमिटीको बैंक खातामा नियमित रूपमा दाखिला गर्नुपर्ने छ ।
बैठकले २०८२ को वार्षिक कार्ययोजना, कार्य तालिका र बजेट पारित गर्दै मातहतका सबै कमिटीहरूलाई भदौ मसान्तभित्र आफ्ना योजना तथा बजेट स्वीकृत गरी महानगर कमिटीमा बुझाउन निर्देशन दिएको छ। त्योबाहेक वडा अधिवेशन २०८२ साउन २० भित्र सम्पन्न गर्नुपर्ने निर्णय गर्दै आवश्यक तयारीका लागि महानगर सचिवालयलाई सम्पूर्ण अधिकार प्रदान गरिएको छ।
विभिन्न विभाग र समितिहरूमा जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ। पार्टी स्कुल विभागको नेतृत्व अध्यक्ष बलराम गिरीले लिएका छन् भने संगठन विभाग सचिव विज्ञान चापागाईंको जिम्मामा गएको छ।
कोष तथा वित्त व्यवस्थापनमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचार विभागमा उपसचिव हमिद आजाद, लेखा र निर्वाचन समितिमा बोधराज घिमिरे र विष्णु तामाङलाई संयोजक बनाइएको छ । ४ जना नयाँ महानगर सदस्यहरू समेत मनोनयन गरिएको छ।
विराटनगर महानगरका जनप्रतिनिधिहरूको कामको समीक्षा र आगामी योजना निर्माण गर्न ‘समृद्ध विराटनगर कार्ययोजना २०८२’ तयार गर्न कार्यदल गठन गरिएको छ। कार्यदलको संयोजक अध्यक्ष बलराम गिरी, सदस्यसचिवमा विज्ञान चापागाईं, पालिका सभादल प्रमुख र उपप्रमुख सदस्य रहनेछन्। अन्य सदस्य तथा विज्ञ मनोनयनको अधिकार संयोजकलाई दिइएको छ। कार्यदलले साउन मसान्तभित्र समीक्षा सम्पन्न गरी २०८३ वैशाखमा कार्ययोजना पेस गर्नेछ।
बैठकले पार्टीका दिवंगत नेता बासु कोइरालासहित मृतक शुभेच्छुकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। सांगठनिक आत्मपरीक्षण, योजनागत स्पष्टता र तल्लो तहसम्मको सक्रियता सुनिश्चित गर्ने प्रयाससँगै बैठक एमाले विराटनगरका लागि कार्यदिशा कोर्ने निर्णायक घडी भएको सचिव चापागाईं बताउँछन् । ‘बैठकले सांगठनिक सक्रियताको नयाँ नक्सा तयार पारेको छ,’ उनले भने ।
























