वैदेशिक रोजगारीको पीडा : विदेशको भेन्टिलेटरमै अन्त्य भयो लेखनाथको जीवन

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार १२:४४

इलाम । वैदेशिक रोजगारीका लागि दुबई गएका इलामको सूर्योदय नगरपालिका–७, गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारका क्रममा निधन भएको छ ।

पारिवारिक आर्थिक अवस्था सुधारको सपना बोकेर विदेश १ महिनामै उनले भेन्टिलेटरमा प्राण त्याग्नु परेको हो । खतिवडा गत जेठ ५ गते मात्रै दुबईस्थित ‘एफजेठ मास्ट इन्जिनियरिङ कम्पनी’मा काम गर्न पुगेका थिए ।

तर, त्यहाँ पुगेको १ महिनामै उनी असार ८ गतेदेखि एक्कासि सिकिस्त बिरामी भए । सुरुमा सेतो रक्तकोषको असामान्य कमी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनलाई निमोनियासमेत देखियो । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई आईसीयूमा राखिएको थियो । भेन्टिलेटरमा राखेर केही दिन उपचार गरिए पनि अन्ततः असार २८ गते उनको मृत्यु भएको परिवारले जनाएको छ ।

दाजु लीलाधर खतिवडाका अनुसार, उपचार खर्च अत्यन्तै महँगो भएकाले आमसञ्चार र सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको थियो । ‘हामीले लाखौं रुपैयाँ सहयोग संकलन गर्‍यौं । तर, लेखनाथलाई फर्काउन सकेनौं,’ लीलाधरले भने ।

दुबईको ‘एआई रोसिड अस्पताल’मा प्राण त्यागेका लेखनाथको शव स्वदेश ल्याइएपछि शुक्रबार गोगनेस्थित शुद्धिखोलामा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । धन कमाएर स्वदेश फर्कने सपना बोकेर गएका उनी बाकसमा फर्किएका छन् । विदेशमा रोजगारी खोज्दै जाने नेपालीले उतै जीवन गुमाउनु परेका कैयौं घटनाहरु छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.