पूर्वराष्ट्रपति राजनीतिमा फर्किएपछि ओली असन्तुष्ट

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार १८:५९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी खुला राजनीतिमा फर्किएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बनेका छन् ।

भण्डारीले आफू राजनीतिमा फर्किएको घोषणा गरेको ओलीलाई मन नपरेको प्रष्ट हुन्छ । राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउने विषय गम्भीर रहेको उनले बताए ।

च्यालस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको पोलिटब्युरो बैठकमा ओलीले देशको गरिमामय पदमा पुगिसकेको र नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर रहेको ‘ब्रिफिङ’ गरेका हुन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पार्टीले उचित समयमा निर्णय लिने बताएका थिए।

ुराष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको, परमाधिपति भइसकेको, देशको सर्वोच्च पदमा पुगेको, गणतन्त्रको गौरवको रूपमा रहेको र राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय भएको गौतमको भनाइ छ । ‘यसमा पार्टीले उचित समयमा निष्कर्ष निकाल्छ। निर्णय लिन्छ,’ अध्यक्ष ओलीको भनाइ उद्रित गर्दै गौतमले भने।

केही दिनअघि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा आउने विषयमा आपत्ति जनाएका थिए। नेपाली सेनाको परमाधिपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने र यसले भोलिका दिनमा गम्भीर संकट उत्पन्न हुने सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किने उद्‍घोष गरेकी थिइन् । लगत्तै उनले पूर्वराष्ट्रपतिका हैसियतमा पाउने सेवा सुविधा पनि त्याग गरिसकेकी छन् । तर, पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरेसँगै उनको चौतर्फी आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.