
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनु ‘जनताको बहुदलीय जनवाद’ (जबज)को आत्मासँगै प्रतिकूल भएको टिप्पणी गरेका छन्।
पूर्वराष्ट्रपति निष्क्रिय र निष्पक्ष भूमिकामा रहनुपर्ने लोकतान्त्रिक मान्यताको चर्चा गर्दै भट्टराईले भने, ‘झन् जबजको रक्षाका लागि पुरानो पार्टीमा फर्कन लागेको भन्ने पूर्वराष्ट्रपतिको भनाइ सही हो भने त्यो आफैंमा जबजको ‘स्पिरिट’को विरोधी कुरा हुन्छ।’ उनले पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेको अग्रगमनात्मक वैचारिक रूपान्तरणमा संशय र अन्योल उत्पन्न गर्ने दाबी गरे।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)मा औपचारिक रूपमा फर्किएको सन्दर्भमा भट्टराईले त्यस्तो व्यक्तिको पुनः राजनीतिक सक्रियताले पार्टीको वैचारिक रूपान्तरणमा सहयोग पुग्ने नभएर हानि हुने तर्क राखे। माओवादी पार्टीले सन् २००३ मा बहुदलीय प्रतिस्पर्धात्मक जनवादको बाटो समातेको उनले उल्लेख गरे ।
उनले भने, ‘मदन भण्डारीको नेतृत्वमा एमालेले जबजको अवधारणा ल्यायो र माओवादीले पनि त्यसकै विकसित संस्करण २१ औँ शताब्दीको जनवाद अँगालेको हो । यही वैचारिक प्रवाहको जगमा संविधान बनेको हो । त्यही आधारमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले कार्यभार सम्हालेका थिए। अहिले उनीहरू फेरि पुरानै एकलदलीय मनोवृत्तिको राजनीति फर्किँदा वैचारिक रूपान्तरणको विरुद्ध जान्छ।’
भट्टराईले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको राजनीतिक पुनर्सक्रियताले आ–आफ्ना मातृ पार्टीभित्र मात्र नभएर समग्र लोकतान्त्रिक गणतन्त्रको मर्यादा, स्थायित्व र कार्यसञ्चालन प्रणालीमा पनि गम्भीर बहसको खाँचो खडा भएको बताए । ‘अब यो विषय सम्बन्धित पार्टीको आन्तरिक रणनीति वा गुटगत लाभ–हानिको विषय मात्रै होइन,’ भट्टराईले भने, ‘यो विषय राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्थाको मर्म र कम्युनिस्ट पार्टीहरूको वैचारिक प्रतिबद्धता सबैसँग जोडिएको हो।’
उनको यस्तो अभिव्यक्तिले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको भूमिकालाई लिएर थप बहस चर्किने सम्भावना देखिएको छ। भण्डारीले एमालेमा औपचारिक सक्रियता बढाउँदै गर्दा तत्कालीन राष्ट्रपतिको संवैधानिक हैसियत र राजनीतिक भूमिकाबारे नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको भट्टराईको तर्क छ।
यसैबीच, पुनः राजनीतिमा सक्रिय बनेका नन्दबहादुर पुनलाई पनि उनले माओवादीको रूपान्तरण प्रक्रिया भत्काउने पात्रको रूपमा व्याख्या गरेका छन्। ‘माओवादीले वैचारिक हिसाबले प्रतिस्पर्धात्मक प्रणाली अंगीकार गरेपछि फेरि ‘सशस्त्र आन्दोलन’को प्रवृत्तिका पात्रहरूलाई अघि सार्नु, रूपान्तरणकै विरोध हो,’ भट्टराईले भने।
डा. भट्टराई स्वयं माओवादी आन्दोलनको नेतृत्वमा रहेर गणतन्त्र स्थापनामा भूमिका खेलेका नेता हुन्। तर, पछिल्लो समय उनी प्रत्यक्ष रूपमा ‘जबज’को प्रवाहलाई अग्रगमनको आधार भन्दै पूर्वराष्ट्राध्यक्षको राजनीतिक सक्रियतालाई चुनौती दिन थालेका छन्।
भट्टराईको यस्ता भनाइपछि एमाले र माओवादी केन्द्रले आधिकारिक प्रतिक्रिया नदिए पनि आन्तरिक तहमा यस विषयमा बहस चर्काउने देखिन्छ । विशेषतः गणतान्त्रिक नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक तटस्थता कति समयसम्म रहनुपर्ने र उनीहरूलाई पुनः पार्टी राजनीतिमा फर्कने छुट हुने वा नहुने भन्ने विषयमा गम्भीर वैचारिक बहस हुनुपर्ने आवश्यकता देखिन्छ ।
























