माेरङमा हात्तीकाे आतङ्क, १ वर्षमा ५ जनाकाे मृत्यु

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३, शनिबार १९:२५
फाइल तस्बिर

बेलबारी । मोरङमा हात्तीकाे वितण्डा बढ्दाे क्रममा छ । बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा ५ जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।

बिहीबार बिहान बेलबारी–१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भए । उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।

आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट ३ महिला र २ पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । सुन्दरहरैँचा नगरपालिका क्षेत्रका ३, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका १–१ जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका–९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उनको भनाइ छ ।

गत पुस ५ गते सुन्दरहरैचा–१० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा–५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैँचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताए ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा ९ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ । तीमध्ये प्राकृतिक कारणले ४, चोरीतस्करीबाट २, गोली हानेर १, बेवारिसे १ र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए ।

दुई वर्षदेखि मोरङको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।

जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.