
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी हेरफेर प्रक्रियामा निर्वाचन आयोगबाट ढिलाइ भइरहेको भन्दै नेताहरुले ध्यानाकर्षण गराएका छन् ।
रास्वपा महासचिव कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कानुनी विभागका नेताहरूको टोलीले निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पुगेर ध्यानाकर्षण गराएका हुन् । नेताहरूले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरी हालसम्म अद्यावधिक नभएको पदाधिकारी विवरणबारे स्पष्ट जानकारी माग गरेका छन्।
रास्वपाले पटक–पटक पदाधिकारी हेरफेरको विवरण बुझाइसकेको भए पनि आयोगमा आवश्यक अद्यावधिक प्रक्रिया अड्किएको गुनासो गरेको छ। भेटपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव बुर्लाकोटीले भने, ‘निर्वाचन आयोगले विवरण अद्यावधिक गर्न ढिलाइ गरिरहेको छ कि, या कुनै कानुनी वा प्राविधिक अस्पष्टता छ भन्ने बुझ्न आएका थियौं। आयोगका अधिकारीहरूले अधिकांश कागजात प्राप्त भएको बताएका छन्। तर, अद्यावधिकको प्रक्रियामा विलम्ब हुनु राम्रो होइन।’
रास्वपाले पछिल्ला महाधिवेशन तथा पार्टीभित्रका निर्णयअनुसार पदाधिकारी फेरबदल गर्दै आवश्यक विवरण आयोगमा बुझाएको थियो। तर, आयोगले पुराना विवरण कायम राखेको कारण पार्टीभित्र कानुनी अन्योल सिर्जना भएको छ।
यसै विषयमा पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई पुनः पदमा फर्काउनु पर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उनले आयोगमा नयाँ विवरण अद्यावधिक नभएको तर्क गर्दै पूर्ववत् जिम्मेवारी फिर्ता पाउनुपर्ने माग राखेका हुन्।
यो परिस्थितिमा निर्वाचन आयोगले स्पष्ट प्रक्रिया र समयसीमा सार्वजनिक नगर्दा दलभित्रको आन्तरिक व्यवस्थापनमा नै अन्योलता देखिएको र रास्वपाजस्ता नवगठित दलहरूलाई थप जटिलता हुने स्थिति सिर्जना भएको छ।
रास्वपाले आयोगसँग छिटो प्रक्रिया टुंग्याउन आग्रह गर्दै दल दर्ता तथा अद्यावधिक प्रक्रियामा पारदर्शिता र समयपालन सुनिश्चित हुनुपर्ने माग राखेको छ। आयोगले भने यस विषयमा तत्काल कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन।
























