
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको पछिल्ला गतिविधिबारे मन्त्रिपरिषद् बैठकमा विशेष ब्रिफिङ गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा उनले दुई चर्चित राजनीतिक पात्रसँग जोडिएर भइरहेका चलखेलबारे स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग आइतबार च्यासलस्थित पार्टी कार्यालयमा भएको भेटबारे मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए।
भेटका क्रममा ‘राम्रो छलफल’ भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन उकासिरहेको र त्यसको प्रचारबाजी भइरहेको भन्दै अब ती सबै प्रयास रोकिएको दाबी गरे। उनले बैठकमा भने, ‘उहाँसँग निकै राम्रो छलफल भयो। उहाँलाई ज–जसले उकास्दै आएका थिए , आजदेखि त्यो पनि बन्द भएको छ। हामी दुवै जना आजदेखि ‘क्लियर’ भएका छौँ।’
यद्यपि, प्रधानमन्त्री ओलीले भण्डारी एमालेको प्रत्यक्ष राजनीतिक भूमिकामा फर्किने कि नफर्किने भन्ने विषयमा भने स्पष्ट धारणा नराखेको एक मन्त्रीले बताएका छन्।
यसैबीच, बैठकमा कोइरालाको गतिविधिले पनि गम्भीर रुपमा प्रवेश पाएको थियो। प्रधानमन्त्री ओलीले कोइरालालाई संसदमा गणितीय चलखेल गर्न खोजेको आरोप लगाउँदै उक्त प्रयास अब सफल नहुने दाबी गरे।
‘उहाँ (कोइराला)ले संसदको गणितीय अभ्यासमा चलखेल गर्न खोज्नुभएको थियो। त्यसका लागि राजनीतिक सक्रियता पनि देखाउनु भएको हो। तर, अब त्यो सम्भव छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै ती मन्त्रीले भने । कोइरालाले केही दिनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेट गरेका थिए।
त्यही क्रममा उनले विद्या भण्डारीसँग पनि राजनीतिक विषयमा अलग्गै छलफल गरेका थिए। आइतबार कोइरालाले आफ्ना पक्षीय सांसदहरूसँग काठमाडौंको एक होटलमा गोप्य बैठकसमेत गरेका थिए।
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच पनि आइतबार नै झण्डै डेढ घन्टा ‘वान टु वान’ भेटवार्ता भएको थियो। स्रोतका अनुसार दुवैबीचको छलफल समसामयिक सत्ता समीकरण, पार्टीभित्रको शक्ति सन्तुलन र विपक्षी गठबन्धनको सम्भाव्य रणनीतिबारे केन्द्रित थियो।
भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भण्डारीले भनिन्, ‘अहिलेको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भयो। अरु विषय आधिकारिक च्यानलमार्फत सञ्चारमाध्यमलाई जानकारी हुन्छ।’ उनले एमालेमा आफ्नो सदस्यता नवीकरण पहिल्यै भइसकेको भन्दै त्यो विषयमा कुनै विवाद नरहेको पनि स्पष्ट पारिन्।
पार्टी राजनीतिमा आएको घोषणा गरेकी भण्डारीको प्रत्यक्ष राजनीतिक भूमिकाका बारेमा अझै अस्पष्ट छ। प्रधानमन्त्री ओलीको यथार्थवादी ब्रिफिङबाट सत्ताको शक्ति समीकरण र विपक्षी गठबन्धनबीच देखिएको मौन द्वन्द्व सतहमा आउन थालेको आभास दिइएको छ।
























