साउनको पहिलो सोमबार आज, देशभरका शिवालयमा भक्तजनको भिड

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार ०६:४२

विराटनगर । २०८२ साल साउन महिनाको पहिलो सोमबार आज परेको छ । पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरुको भिड लागेको छ।

देशभरका शिव मन्दिरमा भक्तालु भक्तजनहरुले बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको उल्लेख्य भिड लागेको छ ।

साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव)को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने प्रचलन छ । सोमबारका दिन पूजाआराधना र अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

साउनको सोमबार सात्विक खानपान र हरियाली चुरा पोतेजस्ता सौभाग्यको साथमा मनाउने गरिन्छ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना रहेको बताइन्छ ।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन्। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसेर शुद्ध जल चढाउँदै शिवलाई खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिष शास्त्रानुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ साउन महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ।

यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एवं विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

साउनको महिना व्रत बसेर शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ। साउनको पहिलो सोमबार काठमाडौं उपत्यकाका प्रमुख शिवालयहरु, पशुपतिनाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायत मुलुकभरका शिव मन्दिरहरुमा दिनभरजसो भक्तजनको उल्लेख्य भिड लाग्ने गरेको छ ।

साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज पहुँचका लागि यस वर्ष निःशुल्क बस सेवा उपलब्ध गराइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार ४ वटा बसको व्यवस्था गरिएको छ । बसले चक्रपथ घुमेर भक्तजनलाई मन्दिरसम्म पुर्‍याउनेछन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.