
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश भू–भागमा सोमबार बिहानैदेखि मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहितको वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मध्यम वर्षा भइरहेको जनाइएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि पानी परिरहेको छ। सोमबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश प्रदेशमा वर्षा थप सक्रिय हुने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका १–२ स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ। भारी वर्षाले भूक्षय, पहिरो, बाढी तथा डुबानको जोखिम तथा नदी–नालाको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरिएको छ ।

























