अडियो काण्डमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारले बोलायो

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १२:५६

काठमाडौं । घुस मागेको अडियो काण्डको विवादमा मुछिएका पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ।

आयोगका एक उच्च अधिकारीका अनुसार गुप्तालाई मंगलबारसम्म आयोगमा हाजिर हुन भनिएको हो । यद्यपि, अख्तियारले यसबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले गुप्तालाई बोलाइएको मिति खुलाएनन् । ‘बोलाएको हुनसक्छ । तर, कहिले बोलायो भन्ने अहिले भन्न सकिन्न,’ पौडेलले भने।

आयोगका एक कर्मचारीका अनुसार गुप्तालाई प्रारम्भिक सोधपुछ, अर्थात् ‘इन्क्वायरी’का लागि बोलाइएको हो। पछिल्लो समय सार्वजनिक भएको अडियो रेकर्डिङमा संलग्नताको आशंकामा गुप्तासँग बयान लिने तयारी आयोगले गरेको छ।

सार्वजनिक अडियोमा उनले मन्त्रालयका संवेदनशील निर्णयहरूमा प्रभाव पार्ने आशय झल्किने कुराकानी रहेको आरोप लागेको छ। सोही आधारमा नागरिक समाज र विभिन्न सरोकारवाला समूहले छानबिनको माग गर्दै आएका थिए।

यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोले गुप्ताले सरकारी निर्णयमा प्रभावको सन्देह हुने गरी दलाली शैलीमा संवाद गरेको आरोप लागेको थियो। सो प्रकरणपछि उनीमाथि राजनीतिक र सार्वजनिक दवाब बढेको थियो । जसको केही दिनमै उनले पदबाट राजीनामा दिएका थिए।

हाल आयोगले प्रारम्भिक अनुसन्धानका आधारमा गुप्तालाई छलफलका लागि बोलाएको भए पनि घटनाबारे थप प्रमाण र बयानका आधारमा निर्णय लिने बताइएको छ। गुप्ताको बयानपछि आयोगले उनलाई प्रतिवादी बनाउने कि नबनाउने भन्ने निर्णय गर्नेछ।

अख्तियार स्रोतले दायरा फराकिलो पारेर अडियोमा संलग्न अन्य सम्भावित व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइने जनाएको छ । अडियोको वैज्ञानिक परीक्षण (भ्वाइस म्याचिङ) तथा टेक्निकल विश्लेषण गर्ने तयारीमा आयोग रहेको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.