
विराटनगर । झापामा एउटा घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा जलेर मंगलबार एकै परिवारका ४ जना घाइते भएका छन् । हल्दीबारी गाउँपालिका–४ स्थित ओली चोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा आगलागी भएको थियो ।
रोटी पकाउने क्रममा इँटाले बनेको ३ तले पक्की घरको दोस्रो तालको भान्सा कोठामा बिहान ८ः४० बजेतिर आगलागी भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार अचानक लागेको आगो नियन्त्रणमा लिने क्रममा जलेर घरधनी पुण्यप्रसाद ओली, उनका छोराहरु ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली र बुहारी ३२ वर्षीया अनिता ओली घाइते भएका छन् ।
घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम र अरुको सामान्य रहेको जानकारी खड्काले दिए । घाइतेहरुलाई उपचारका लागि भद्रपुरको ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
आगोले घरको भान्सा कोठामा आंशिक क्षति पुगेको छ । स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























