‘नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा उभिएको छ’

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार १४:५३

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाको मेलमिलाप नीति आजको राजनीतिमा पनि उत्तिकै सान्दर्भिक र सशक्त भएको बताएका छन् ।

बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले नेपालको लोकतान्त्रिक यात्रा बीपीले राखेको विचार र व्यवहारको जगमा अडिएको दाबी गरे । बीपी स्मृति प्रतिष्ठान, बीपी स्मृति अस्पताल र कांग्रेस खेलकुद विभागले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा देउवाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिलाई प्राथमिकतामा राख्ने बीपीको दृष्टिकोण आजको चुनौतीपूर्ण राजनीतिमा झन् आवश्यक भएको उल्लेख गरे ।

‘राजनीतिक स्वार्थभन्दा ठूलो कुरा राष्ट्रिय एकता हो भन्ने धारणा बीपीसँग थियो,’ उनले भने, ‘त्यसैले मेलमिलापको नीति अतीतको स्मृति होइन, वर्तमान र भविष्यको बाटो पनि हो ।’ देउवाले बीपी कोइरालालाई राजनीतिज्ञका रूपमा मात्र नभइ नेपाली प्रजातान्त्रिक समाजवादका चिन्तक र प्रयोगकर्ता, स्वतन्त्र चिन्तनको धनी व्यक्तित्व र उच्च कोटीका साहित्यकारका रूपमा स्मरण गरे ।

उनले भने, ‘बीपीले स्वतन्त्र सोच, विशिष्ट परम्परा र लेखनशैलीमार्फत नेपाली वांमयलाई शिखरमा पुर्याउनुभएको छ । उहाँका विचारहरू आज पनि प्रेरणादायी छन् ।’ कार्यक्रममा देउवाले बीपी कोइरालाको ऐतिहासिक निर्णयहरूको सन्दर्भसमेत स्मरण गरे ।

खासगरी सन् १९७६ मा तत्कालीन पञ्चायती व्यवस्थाले उनीविरुद्ध ८ वटा ज्यान मुद्दा लगाएको अवस्थामा पनि भारत निर्वासनबाट स्वेच्छाले नेपाल फर्किएको प्रसंग उनले उल्लेख गरे । ‘उहाँले निर्वासनको सुरक्षित जीवन त्यागेर राष्ट्रियताको पक्षमा देश फर्किनु एक ऐतिहासिक आँट थियो,’ देउवाले भने, ‘त्यो बीपीको राष्ट्रियताप्रतिको अडान थियो, जुन आज पनि हाम्रो मार्गदर्शन बन्न सक्नेछ ।’

सभापति देउवाले नेपाली कांग्रेस अहिले जुन स्थानमा पुगेको छ, त्यसको जग बीपी कोइरालाले तयार पारेको विचार, मूल्य र त्यागकै कारण भएको धारणा राखे । ‘बीपीज्यूले जुन मूल्यको स्थापनाका लागि संघर्ष गर्नुभयो । हामी त्यही मार्गमा अघि बढ्नुपर्छ,’ उनले भने, ‘हामीले उहाँको विचार र योगदानलाई केवल सम्झिन होइन, व्यवहारमा उतार्न आवश्यक छ ।’

कार्यक्रममा पार्टीका अन्य नेताहरू, बीपी स्मृति प्रतिष्ठानका पदाधिकारी, साहित्यकारहरू, स्वास्थ्यकर्मी, खेलकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । बीपीको योगदानको सम्मानस्वरूप वार्षिक रूपमा मनाइने स्मृति दिवसमा यसपटक पनि उनको साहित्य, राजनीति, राष्ट्रियता र समाजवादसम्बन्धी योगदानबारे विभिन्न वक्ताहरूले चर्चा गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.