
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विधेयकमा नेकपा (एमाले)ले लिएको अस्पष्ट र दोहोरो व्यवहारप्रति असन्तोष व्यक्त गरेका छन् ।
सत्तागठबन्धनका २ प्रमुख दलबीच बढ्दो अविश्वासको संकेत दिँदै कांग्रेस नेताहरूले राष्ट्रियसभामा एमाले सांसदहरूले प्रस्ताव गरेको संशोधनले गठबन्धनमै संकट निम्त्याउने चेतावनी दिएका छन्। मंगलबार बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एउटै स्वरमा एमालेको कार्यशैलीप्रति शंका जनाए।
उनीहरूले ‘कुलिङ अफ पिरियड’को प्रावधान संशोधन गर्न लागिएको प्रयासलाई ‘राजनीतिक दुर्घटना निम्त्याउने कसरत’ भनेका छन् । महामन्त्री शर्माले विशेषगरी राष्ट्रियसभामा एमालेका सांसदहरूले ‘कुलिङ अफ पिरियड’ हटाउने संशोधन प्रस्ताव दर्ता गरेपछि गठबन्धनको नैतिक जग डगमगाउन सक्ने चेतावनी दिए।
‘समितिबाट सर्वसम्मत पारित भएको विधेयकलाई संसदमा तोडमोड गरेर पास गरियो। अब फेरि राष्ट्रियसभाबाट उल्ट्याउने प्रयास भयो भने गठबन्धनमा दरार आउन सक्छ,’ उनले भने।
नेता शेखर कोइरालाले संसदमा विधेयक पास गर्ने क्रममा आफूहरूले समेत गल्ती गरेको स्वीकार गरेका छन्। उनले भने, ‘हामीले पढ्नुपर्छ भन्ने चेतना नभएकै कारण विधेयकको मूल प्रावधान परिवर्तन भएको हो। यो गल्तीमा म पनि सामेल छु। तर, अब सच्याउने बेला एमाले उल्टो बाटो हिँड्न खोज्दैछ।’
कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेर संसदमा पारित प्रावधानअनुसार नै ‘कुलिङ अफ पिरियड’ कायम गर्न दबाब दिनुपर्ने धारणा राखे। उनले समिति सभापति रामहरि खतिवडालाई नै सार्वजनिक रूपमा प्रश्न गरे, ‘हस्ताक्षर मात्र गरेर हुन्छ ? पढ्नु पर्दैन ?’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ‘कुलिङ अफ पिरियड’को विषय ‘नैतिक र संस्थागत मूल्य’सँग गाँसिएको बताएका छन्। ‘यो विषय संसदीय समितिबाट सर्वसम्मत रूपमा आएको हो। अब हामी यसमा कुनै सम्झौता गर्न सक्दैनौं,’ उनले भने, ‘संशोधन प्रस्तावले कांग्रेसको मूल्य मान्यता माथि प्रहार गरेको छ।’
महतका अनुसार संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित विधेयक संसदबाट अर्कै रूपमा पारित हुनु आफैंमा अस्वाभाविक थियो। त्यसको छानबिनका लागि समिति गठन भइसकेको अवस्थामा फेरि राष्ट्रियसभामा संशोधन प्रस्ताव दर्ता गर्नु गलत नियत हो भन्ने प्रष्ट हुने उनले बताए ।
कांग्रेस नेताहरूले एमालेभित्र पनि ‘कुलिङ अफ पिरियड’का विषयमा एकमत नरहेको भन्दै संसदीय प्रक्रियामा गम्भीरतापूर्वक सहभागिता नहुनुमा चिन्ता व्यक्त गरेका छन्। ‘एउटै दलभित्र मतभेद हुँदा सत्तागठबन्धनका २ फरक दलबीच साझा मत निकाल्नु झनै गाह्रो हुन्छ,’ महामन्त्री शर्माले भनेका छन् ।
सत्तागठबन्धन बनेदेखि नै राजनीतिक असमझदारीहरू सतहमा देखिँदै आए पनि यो विवाद गठबन्धनको नैतिक आधार हल्लाउने तहमा पुग्न थालेको कांग्रेस नेताहरूको बुझाइ छ। ‘साझा प्रतिबद्धता र पारदर्शी सहकार्यबिना गठबन्धन लामो समय टिक्न सक्दैन,’ शर्माले भने ।
‘कुलिङ अफ पिरियड’ विवाद के हो ?
राजनीतिक पदमा निरन्तर बस्ने प्रवृत्तिलाई रोक्न र शुद्ध राजनीतिक संस्कार विकास गर्न ‘कुलिङ अफ पिरियड’ (ब्रेक अवधि)को अवधारणा ल्याइएको हो। यो व्यवस्थाअन्तर्गत कुनै एक संवैधानिक पदमा कार्यकाल पूरा गरेपछि पुनः सोही वा समान तहको पदमा तुरुन्तै नियुक्ति नपाउने प्रावधान राखिएको थियो । तर, प्रतिनिधिसभाबाट पारित विधेयकमा यस प्रावधानलाई कमजोर बनाइएको र अब राष्ट्रियसभाबाट झनै फिर्ता गर्न खोजिएको कांग्रेसको आरोप छ।
























