
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा निरन्तर संघर्ष गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । यो छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया पनि उपस्थित थिए ।
रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँगको छलफलमा सभामुख घिमिरेले संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।
‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ । सभामुखकारुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु ,’ उनले भने,‘ मेरो ठाउँमा अरु कोही सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ । संसद चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । ’
सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने आश्वासन दिएको बताउँदै उनले हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन् भन्ने अन्योल भएको बताए ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको बताए । ‘सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ,’ उनले भने,‘ एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।’
रास्वपा कार्यवाहक सभापति अर्याल गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी पन देखाएको बताए । राप्रपा उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
























