
विराटनगर । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) विजय चौहान र मोरङको इलाका प्रहरी कार्यालय रानी (सीमा)मा कार्यरत सई (प्रहरी नायव निरीक्षक) सुवास अधिकारी असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘वेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरेको हो । उनीहरुले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गरी उच्च मनोबल तथा साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इन्स्पेक्टर चौहानले भद्रपुर नगरपालिका–५ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ४७ ग्राम ६ सय ९० मिलिग्रामसहित कार नियन्त्रणमा लिएर १ जनालाई पक्राउ गरेका थिए । त्यस्तै, भद्रपुर–७ मा ६ राउण्ड गोली फायर गरी २ सय ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेले ।
चौहान नेतृत्वकै टोलीले झापा गाउँपालिका–४ बाट साइकलको चक्काभित्र लुकाएर ल्याइएको १ सय ६७ ग्राम ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको थियो । सई अधिकारीले मोरङको कटहरी गाँउपालिका–३ मा व्यक्तिको हत्या गरेर फरार भएका व्यक्तिलाई पक्राउ गरेका थिए ।
अधिकारी नेतृत्वको टोलीले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएकासहित अन्य विभिन्न मुद्धामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरेको थियो । साथै लागुऔषध दुर्व्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इन्स्पेक्टर चौहान र सई अधिकारीले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै उनीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरेका हुन् ।

























