कृत्रिम ‘नेल आर्ट’मा बढ्दैछ आकर्षण (भिडियोसहित)

Share this
700shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन ७, बुधबार १६:३२

विराटनगर । कुनै समय चाडपर्वमा साथीहरुलाई र छिमेकमा मेहेन्दी लगाउने तथा दुलही शृङ्गारमै सीमित रहेकी रचना श्रेष्ठले कहिल्यै ‘मेकअप आर्टिस्ट’ बन्ने सपना देखेकी थिइनन्।

तर, विगत ५ वर्षदेखि सौन्दर्यकला क्षेत्रमा सक्रिय उनले विराटनगरमा ‘रचनाज् मेकअप स्टुडियो’ सञ्चालन गर्दै आएकी छन्। उनी ‘मेकअप आर्टिस्ट’ मात्रै होइनन् । प्रशिक्षकको रूपमा पनि काम गर्दै आफ्नै स्टुडियोमा ‘मेकअप’, ‘नेल आर्ट’, ‘मेहेन्दी’लगायत ‘पार्लर’सँग सम्बन्धित विविध सिपहरू सिकाउँछिन् ।

पछिल्लो समय युवापुस्तामा कृत्रिम नङमा आकर्षक डिजाइन बनाउने ‘नेल आर्ट’प्रति विशेष रुचि देखिएको रचनाको अनुभव छ। ‘यो एउटा रचनात्मक कला हो । जसलाई ‘यूभी ल्याम्प’को सहायताले सुकाएर तयार पारिन्छ,’ उनी भन्छिन्।

उनका अनुसार महिलाको सुन्दरतामा नङको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । ‘सुन्दर नङले आत्मविश्वास बढाउँछ । त्यसैले पनि अहिलेका पुस्ताले ‘नेल आर्ट’ गर्न र सिक्न रुचि राखेका होलान्,’ उनले भनिन् ।

नङ बनाउँदा छोटो र सजिलो डिजाइन छनोट गर्नु उपयुक्त हुने उनको सुझाव छ । कृत्रिम नङ १५ दिनदेखि १ महिनासम्म टिक्ने बताउँदै उनले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन् ।

कृत्रिम नङको बारम्बार प्रयोगले प्राकृतिक नङमा असर गर्नसक्ने भएकाले २–३ पटक लगाएपछि केही समयको विश्राम लिनुपर्ने उनको भनाइ छ । ‘नेल आर्ट’पछि तातो पानी कम प्रयोग गर्ने र गह्रौँ सामान उठाउँदा वा अनावश्यक चाप परेको अवस्थामा विशेष सावधानी अपनाउने गर्नुपर्ने उनले बताइन् ।

त्यसो त स्वास्थ्य सुरक्षामा पनि विशेष सचेतना अपनाउनुपर्नेमा उनको जोड छ । एकै दिन १०–१२ जनासम्मलाई सेवा दिनुपर्ने अवस्थामा पनि प्रत्येक ग्राहकका लागि उपकरणहरू राम्ररी ‘सेनीटाइज’ गर्नुपर्ने श्रेष्ठ बताउँछिन् ।

‘कसैको स्वास्थ्य अवस्था थाहा नहुन सक्छ । त्यसैले पूर्वसावधानी आवश्यक हुन्छ,’ उनी भन्छिन्। डिजाइनका सन्दर्भमा ग्राहकहरू प्राय मोबाइलमा डिजाइन देखाएर आउने गरेको उनको भनाइ छ । ‘फ्रेन्च नेल’, ‘स्टोन प्लेसमेन्ट’, ‘क्याट आई’जस्ता स्टाइल बढी लोकप्रिय रहेको उनले बताइन् ।

उनका अनुसार पछिल्लो पुस्ताले ‘एनिमल प्रिन्ट’ डिजाइन्स पनि मन पराउन थालेका छन्। नेपालमा ‘नेल आर्ट’लाई ‘करिअर’को रूपमा स्थापित गर्न चुनौती भएपनि माग उच्च रहेको श्रेष्ठको भनाइ छ । विशेषतः विदेश जान चाहनेहरू यस सिपप्रति निकै आकर्षित हुने गरेको उनले बताइन्।

‘धेरैजसो सिकेर विदेश जान्छन् । थोरै मात्र नेपालमै बसेर काम गर्छन्,’ उनी भन्छिन्, ‘तर, विदेशमै बस्नेहरू पनि सिक्नलाई सामाजिक सञ्जालबाट सम्पर्क गर्छन् । ३ महिनाको छुट्टी लिएर अष्ट्रेलियादेखि पनि सिक्न आउनु भएको थियो ।’ कुनै समय बहिनीको विवाहको ‘मेकअप’का लागि पार्लर जाँदा देखिएको भिडले यो पेसामा आबद्ध हुन प्रेरित गरेको उनी सुनाउँछिन् ।

‘मेरी बहिनीको विवाहका लागि ‘मेकअप’ गराउन पार्लर पुगेकी थिएँ । त्यहाँ पार्लरमा देखिएको भिडले नै यो पेसाप्रति प्रेरित गर्यो । नत्र म पनि विवाहको ‘मेकअप’ घरगाउँमा पैसा नलिइ म ‘फ्री’मा गर्दिने गर्थिएँ,’ उनले भनिन् । त्यसो त उनले कुनै औपचारिक तालिमबिना नै शृङ्गार गर्थिन्।

पछि आफ्नो सिपलाई व्यावसायिक बनाउने सोच पतिसँग साट्दा साथ र समर्थन पाएपछि ‘रचनाज् मेकअप स्टुडियो’ स्थापना गरेको उनको भनाइ छ । युट्यूबबाट धेरै कुरा सिकेकी उनी अहिले आफैं अरूलाई सिकाउने ठाउँमा पुगेकी छन्।

कुनै समय विदेश जाने सपना बुनेकी उनले आफ्नो प्रतिभा, लगनशीलता र आत्मविश्वासले स्वदेशमै जीवन बदल्न सकिने बताइन् । सिकेको सिपलाई नयाँ तरिकाले प्रयोग गर्दा नेपालमा पनि केही गर्न सकिने उनको भनाइ छ ।

पार्लर सिकेर विदेश जानेभन्दा पनि स्वदेशमा स्वरोजगार भएर बस्न श्रेष्ठको आग्रह छ । प्रयास गर्नेहरूका लागि यो पेसा केवल सजिन र सजाउने माध्यम मात्रै नभएर आत्मनिर्भरता एवं सम्भावनाको बाटा रहेको उनको बुझाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.