
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मातर्फ लक्षित गर्दै उनले पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् ।
शर्माले मंगलबार सोही मञ्चबाट कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए । बुधबार प्रचण्डले जवाफ फर्काए । दुई नेताको अभिव्यक्तीले माओवादी केन्द्रभित्र खटपट रहेको विषय सार्वजनिक भएको छ ।
‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । मेरो कमजोरी उदार हुनु हो । मैलै बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन,’ प्रचण्डले भने,‘अहिले केही केही साथीले सिँगौरी खेलेका छन् । मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु । योभन्दा बढी के हो जनवाद ?’
उनले पार्टी छोड्न चाहेपनि नेतृत्व लिन सक्ने मान्छे नभएको बताए । ‘मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । म यसो सोध्छु । राति सुत्नेबेला सोच्छु । अब नेतृत्व छोडिदिउँ कि क्या हो ? फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ’, प्रचण्डले भने ।
























