
फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका–१ मा बाँदर धपाउन स्वयंसेवक नियुक्त गरेको छ । वडा कार्यालयले बाँदर हेरालु कर्मचारी नियुक्त गरेको हो ।
कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिएको थियो । तर, समस्याको समाधान नभएपछि हेरालु कर्मचारी नियुक्त गरिएको हो ।
वडाको बजेटबाट ९ वटा वडामा १ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए । युवा जनशक्ति पलायन भएर खेतबारी बाँझै रहेका बेला थोरै जमिनमा लगाएको बालीसमेत जंगली जनावरले खाएर सखाप बनाइदिने गरेको छ ।
जंगली जनावरमा पनि बाँदर आतंकाका कारण कृषक हैरान छन् । बाँदर आतंकले किसानको उठिबास लाग्ने अवस्था आएपछि कृषकको मागका आधारमा स्वयंसेवक अर्थात बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडा अध्यक्ष लावतीको भनाइ छ । वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्न र मानव वन्यजन्तु सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडा अध्यक्ष लावतीले बताए ।
जंगली जनावरका कारण खेतीयोग्य जमिन बाँझो हुने र रूख बिरुवा बढेर झाडी हुने क्रम जारी छ । बढ्दो झाडीका कारण बाँदरसँगै अन्य जंगली जनवारको आतंक बढ्दै गएको छ । आतंकाका कारण बसाइँ हिँड्नेहरुको संख्या पनि उत्तिकै छ ।

























