‘अनागरिक’ गणेश राम : सडकको पेटीमै सिलाइरहेछन् जीवन

Share this
709shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन ८, बिहीबार १४:०३

विराटनगर । विराटनगरको भट्टीमोडस्थित सडकको पेटीमा बसेर जुत्ता सिलाउँदै आएका गणेश रामका लागि नेपाली नागरिकता केवल कागजको टुक्रा होइन । उनका लागि नागरिकता आत्मसम्मान, पहिचान र भविष्य थियो ।

तर, जीवनको आधा समय नेपालमै बिताइसक्दा पनि उनले त्यो कागजी सम्मान (नागरिकता) हात पार्न सकेका छैनन् । ५० वर्षीय गणेश विराटनगरको घाम, धुलो र शीतसँग जुध्दै आज पनि सडकको किनारमा बसेर जुत्ता सिलाइरहेका छन् ।

मध्यदिनको घामले विराटनगरको सडक उखरमाउलो गर्मी हुने गरी तातेको छ । गर्मी छल्न उनी छातामुनि छन् । तर, पसिना पुछ्न उनको हात खाली छैन । किनकि त्यही तातो सडकको पेटीमा धुलो र घामसँगै जीवन सिउँदै छन् गणेश ।

औँलाहरू जुत्ता सिलाउँदा सिलाउँदा थाकिसकेका छन् । तर, मन अझै थाकेको छैन । घामले भन्दा सन्तानको भविष्य र नागरिकताको अभावको रापले पोलेको छ उनलाई । बुवा बितेपछि विरासत थाम्न पुस्तौनी पेसा अँगालेका गणेशले भट्टीमोडको पेटीमा जुत्ता सिलाउँदै बसेको २ दशक बितिसक्यो ।

उनी कहाँ जुत्ता सुलाउन आउने जानेहरू गन्तव्य भेट्न कहाँ–कहाँ पुगिसके । तर, उनी जिन्दगीको कथा त्यही पेटीमा सिलाइरहेका छन् । कहिले तातो घामसँग त कहिले कठ्याङ्ग्रिने चिसोसँग जुध्दै ।

५ वर्षको उमेरमा भारतबाट आमा–बुवासँगै नेपाल आएका उनी अहिले पनि सरकारी कागजमा ‘विदेशी’ मानिन्छन्। ‘मेरो बाल्यकाल यहीँ बित्यो । छोराछोरी यहीँ जन्मिए । म यत्तिकै पसिना बगाउँदैछु । तर, अझै अनागरिक छु,’ उनले गुनासो पोखे ।

गणेशको घर छैन । पसल छैन । जागिर छैन । पुस्तौनी पेसा ‘सडकको पेटीमै बसेर जुत्ता सिलाउने काम’ मात्रै छ । यही पेसा सम्हाल्दै उनले श्रीमती, ४ छोराछोरी र आमासहितको परिवार पालिरहेका छन् । ‘पहिले दिनमा ४–५ सय कमाइ हुन्थ्यो । अहिले त २ सय पनि पुग्दैन,’ उनले भने ।

उनी ५ वर्षको हुँदा नेपाल आएका थिए । ‘५ वर्षको थिएँ । बुवा र आमासँग नेपाल आएँ। यही माटोमा हुर्किएँ, बाँचिरहेँ । आज पनि म नेपाली होइन भनेर चिनिनुपर्छ,’ उनी भन्छन् । नागरिकता नभएका कारण गणेशले कुनै पनि सरकारी सेवा लिन सकेका छैनन् ।

जागिर, बैंक खाता, छोराछोरीको शिक्षा सबै असहज छन् । ‘बुवा हुँदा नागरिकता बनाउने कुरा बुझिन । अहिले उहाँ बितिसक्नु भयो । जन्मदर्ता छैन । कति ठाउँमा धाएँ । कहीँबाट समाधान भएन,’ गणेश भन्छन् । नेपालको सडकमा उनले धेरै परिवर्तन देखेका छन् ।

उनी २०४६ सालको जनआन्दोलनदेखि मधेश आन्दोलनसम्मका साक्षी हुन् । राजतन्त्र हटाएर गणतन्त्र ल्याउने संघर्षमा सडक भरिएका दृश्य आज पनि उनको स्मृतिमा ताजै छन् । ‘विभिन्न आन्दोलन भए । व्यवस्था फेरियो । नेता फेरिए । तर, जनताको जीवन फेरिएजस्तो लाग्दैन। गरिब अझै पनि गरिबै छन्,’ उनले भावुक हुँदै भने ।

गणेश आफूले अपनाइरहेको पुस्तौनी पेसा अब आफ्ना सन्तानले नअपनाउन् भन्ने चाहन्छन्। ‘छोराले पनि दुःख पाउँछ । उ अहिले पढ्दैछ,’ उनी भन्छन्। आफ्नोजस्तै उसको पनि नागरिकता नहोला भन्ने डरले उनी रात–दिन पिरोलिन्छन्। ‘नागरिकता नभएपछि कहाँ पुगिन्छ र ?’ उनी भन्छन्, ‘त्यही भएर छोरालाई पढाइरहेको छु ।’

मन्द मुस्कानभित्र गहिरो पीडा लुकाउँदै भन्छन्, ‘खै बुद्वि नै पुगेन । तर, सुखदुःख चलिरहेको छ।’ गणेशले ९ कक्षासम्म पढेका थिए । तर, आर्थिक अभावका कारण पढाइ छाड्नुपर्‍यो । त्यसपछि बाबुको साथमा काम सिके र त्यही पेसा अँगाले ।

अहिले पनि कहिले घाममा त कहिले चिसोमा उनी दिनभर जुत्ता सिउँछन् । भन्नु पर्दा, जीवन सिलाउँदै—जुत्ताजस्तै । तर, त्यो सिलाइले उनको नागरिकता नपाएको घाउ सधैं खुलै राखेको छ।

नगरपालिकाले सडक व्यवस्थापनका नाममा अवरोध गरेको छ कि भन्ने प्रश्नमा उनी भन्छन्, ‘म पहिलेदेखि यहीँ छु । सडक रोकेको छैन । नगरपालिका आएर दुःख दिएको छैन ।’ उनी एकातिर राज्यमा विभिन्न कालखण्डमा भएका परिवर्तनका साक्षी हुन् । अर्कोतिर राज्यबाटै चिन्न नसकिएको पात्र पनि हुन् ।

गणेशका लागि नेपाली हुनु केवल अनुभवको कुरा मात्र हो । नागरिक बन्ने बाटोमा न उनी दोषी छन्, न राज्यले बाटो देखाउन सकेको छ । उनी आज पनि नागरिकताबिना सडकमै छन् । तर, नेपाली माटो, पसिना र आशासँग गासिएको जिन्दगीमा बाँधिएका छन् ।

नेता फेरिए, शासन फेरियो । तर, गणेशजस्ता नागरिक बन्न नपाएका जनताको नियति फेरिएन । अझै पनि कागजमा उनी विदेशी नागरिक नै हुन् । उनले नेपालमा ४५ वर्ष बिताइसके । सरकारी कागजले त्यसलाई अझैसम्म प्रमाणित गर्न मानेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.