
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता लामाविरुद्ध २१ जना कांग्रेस संसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव दर्ता गर्नेमा राजीनामा दिएका ४ मन्त्री पनि छन् । बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।
सांसदहरूको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । २०७९ पुस १३ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामासँग बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ५ मतले पराजित भएका थिए ।
बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाइमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मीला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् । लामाविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र कांग्रेस नेता प्रकाशमान सिंह पक्षधरका सांसदहरू छन् ।
























