
काठमाडौं । बाढी पहिरोका कारण काेशी प्रदेशकाे १ सहित मुख्य ४ राजमार्ग अवरुद्ध भएका छन् ।
संखुवासभाको भोटखाेलागाउँपालिका-४ बरुणमा कोशी राजमार्ग अवरुद्ध भएको छ ।
हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको छ ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ ।
बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ । जसकारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको टोखा-२ स्थित काठमाडौं-नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पा परिवर्तन गाउँपालिका-५ ग्रामजिमस्थित सहिद राजमार्ग एकतर्फीमात्रै सञ्चालनमा छन् ।
सबै ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

























