
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूमाथि लागेको क्यूआर कोडमार्फत रकम असुली को आरोप निराधार र तथ्यहीन रहेको दाबी गरेका छन् । आइतबार प्रदेशसभा बैठकमा बोल्दै ‘खाँदै नखाएको विष लागेको’ गुनासो गरे ।
मन्त्री मण्डलले आफूमाथि लगाइएको आरोपबाट अन्याय भएको महसुस गर्दै पप गायक नवीन के भट्टराईको ‘खाँदै नखाएको विषले जिउँदै मार्यो’ गीतको स्मरण गरे ।
मन्त्री मण्डलले आफूमाथि लागेको आरोप निराधार भएको र प्रमाण भए पेश गर्न चुनौती दिए । उनले क्यूआर कोडमा आफ्नो सचिवालयका कोही पनि संलग्न नरहेको स्पष्ट पारे।
‘बजारमा आएको न्युजमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनको लागि, कसलाई, किन दिएको हो, यो विषयमा मेरो कुनै पनि संलग्नता छैन,’ उनले भने,‘क्युआर कोडमा उल्लिखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्युआर पठाइएको हो, कानुनी दायरामा झिकाई अनुसन्धान गर्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’
उनलेले आफ्नाे क्युआर काेड नभएकाे र कसैलाई नपठाएकाे पनि दाबी गरे । तर कर्मचारीलाई सहयाेग माग्दै क्युआर काेड पठाउने अमृत मेहता उनकै सहयाेगी हुन् । विवाद पछि सचिवालयबाट हटाएका छन् ।
























