
विराटनगर । सर्वोच्च शिखर सगरमाथाको महिमा एकातिर छ, भने अर्कोतिर त्यहाँ थुप्रिएको फोहोर र यत्रतत्र छरिएका आरोहीका शवले यसको पवित्रतामाथि प्रश्नचिन्ह खडा गरेको छ ।
कोशी प्रदेशसभा बैठकमा सांसद गाेम्बु शेर्पाले सगरमाथाको फोहोर व्यवस्थापन र शव हटाउन संघीय सरकारसँग समन्वय गरी ठोस कदम चाल्न आग्रह गरेका छन् ।
कोशी प्रदेशको शान, गौरव र पहिचानका रूपमा रहेको सगरमाथाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाई छ । उनको भनाई अनुसार २०८२ को वसन्त ऋतु सिजनमा मात्रै आरोहण रोयल्टीबापत ६५ करोड रुपैयाँ संकलन भएको थियो भने गत वर्ष २०८१ मा ७६ करोड संकलन भएको थियो । यसले सगरमाथा केवल गौरवको प्रतीक मात्र नभई नेपालको लागि आर्थिक मेरुदण्ड पनि हो भन्ने स्पष्ट पारेको छ ।
तर, यसको सुन्दर पाटोभन्दा फरक एउटा विकराल पक्ष पनि छ । हालै २०८२ जेठ १३ गते सगरमाथा आरोहण गरेका पासाङ शेर्पाका अनुसार, ८ हजार ७ सय ९० मिटरको हिलारी स्टेपमा वर्षौं पुराना आरोहीका पार्थिव शरीरहरू यत्रतत्र छरिएका सांसद शेर्पा बताउँछन् । यसले वर्तमान आरोहीहरूलाई ती पार्थिव शरीरलाई टेकेर वा नाघेर आरोहण गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ, जसले उनीहरूको मनोविज्ञानमा गम्भीर नकारात्मक असर पार्ने उनको भनाई छ ।
सगरमाथाको क्याम्प ४ र क्याम्प २ मा गरी १५ देखि २० हजार किलोभन्दा बढी फोहोर थुप्रिएको गुनासो पनि सांसद शेर्पाले गरेका छन् । नेपाल सरकारले यो फोहोर संकलन गर्ने र शव हटाउने विषयमा प्रभावकारी कदम चाल्न नसकेको आरोप व्याप्त छ ।
सगरमाथाको सरसफाइ र आरोहीहरूको शव व्यवस्थापनमा नेपाल सरकार गम्भीर हुनुपर्ने आवाज चौतर्फी रूपमा उठिरहेको छ ।
सगरमाथा कोशी प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारले पनि यस संवेदनशील विषयमा संघीय सरकारसँग समन्वय गरी तत्काल प्रभावकारी योजना बनाई कार्यान्वयनमा ल्याउन ढिलाइ गरिनु नहुने सांसद शेर्पाले जोड दिएका छन् ।
सगरमाथाको पवित्रता र यसको प्राकृतिक सुन्दरतालाई जोगाउनु सबैको साझा दायित्व भएको उनले बताए। उनले सगरमाथा कोशी प्रदेशमा नै भएकाले प्रदेश सरकारले संघीय सरकारसँग संमन्वय गर्न जरुरी रहेको बताए ।

























