
विराटनगर । नेपाल प्रहरीको एसएसपी बढुवामा छुटेका एसपी विमल बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी गरेपछि बढुवा प्रक्रिया रोकिएको छ ।
गत ५ साउनमा गृहसचिव गोकर्णमणि दुवाडी अध्यक्षताको बढुवा समितिले ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो ।
सिफारिस भएकाभन्दा आफू सिनियर भए पनि छुटाइएको भन्दै बस्नेतले उजुरी गरेका हुन् ।
एसपी बस्नेत कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा अनियमिततामा संलग्न रहेकाले निलम्बनमा पर्नुका साथ बढुवा रोक्काको कारबाही भएको थियो ।
बढुवा रोक्काको अवधि सकिएपछि पनि छुटाइएको भन्दै उनले उजुरी दिएका हुन् ।
प्रहरी नियमावलीअनुसार यसउपर लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने उजुरी सुन्ने समितिले यसमा सुनुवाइ गर्नेछ । जसमा मुख्यसचिव र कानुनसचिव सदस्य रहनेछन् ।
नम्बर गणना गर्दा नै नमिलेको अवस्थामा बाहेक यस्तो समितिलाई सिफारिस उल्टाउन सक्ने अधिकार छैन ।























