
विराटनगर । नेकपा एमालेले राजनीतिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
गत ६–७ साउनमा सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर आइतबार साँझ जारी अन्तर पार्टी निर्देशन ( अपानि) मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिएको हो ।
‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन’, अपानिमा भनिएको छ ।
आपनीमा पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन किन रोक लगाइयो भन्ने विषय उल्लेख छ । ‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहँँले अत्यन्त गरिमामय ढंगले ती ओहदाहरुलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ’ अपानिमा भनिएको छ, ‘नेपालमा लैंगिक समानता र समावेशीताको आइकनका रुपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’को रुपमा सम्मान गरेको सन्दर्भ यहाँनीर स्मरणीय छ ।’
भण्डारीले भने आफूलाई एमालेमा फर्कन कसैले रोक्न नसक्ने दाबी गर्छिन । ४५ वर्षअघि लिएको सदस्यता अहिले रोक्न नमिल्ने उनको तर्क छ ।
























