
विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा नागपञ्चमी (आज) देखि लाखेजात्रा सुरु भएको छ ।
प्रदेशको संखुवासभा, भोजपुर, ओखलढुंगा, खोटाङ, धनकुटा, तेह्रथुम र ताप्लेजुङलगायत नेवार समुदायको बाहुल्यता रहेको स्थानमा नागपञ्चमीका दिनदेखि लाखेनाच सुरु गर्ने प्रचलन रहेको छ ।
नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ ।
नेवार समुदायको कुल देवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी लाखेनाच (लाखे जात्रा) सुरु गरिन्छ ।
नागपञ्चमीदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म जात्राका रूपमा मनाइन्छ ।
लाखेलाई नचाउँदै हरेक दिन बजार परिक्रमा गराइन्छ । उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर मुख्य थलो बनाएका नेवारी समुदायहरू मुलुकका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका छन् ।
लाखेनाचका क्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।























