
धरान । भोजपुर–सुनसरी सेवा समाज धरानले आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको छ । त्यसका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ ।
आर्थिक संकलनका लागि धरानमा आगामी भदौ २८ गते शनिबार गायक भीषण मुकारुङको एकल सांगीतिक साँझ राखिएको छ । संस्थाका अध्यक्ष रेवतीरमण राईले पत्रकार सम्मेलनमार्फत सबै भोजपुरे, धराने, सुनसरीबासी तथा देश–विदेशमा रहेका समाजसेवीहरुलाई कार्यक्रममा सहभागी भएर सहयोग गर्न आग्रह गरे ।
२०७० सालमा स्थापना भएको भोजपुर–सुनसरी सेवा समाजमा हालसम्म करिब १ हजार आजीवन सदस्य छन् । समाजले विपद् राहत, बिरामीको उपचार, स्वास्थ्य शिविर, रक्तदान, खेलकुद विकास, पर्यटकीय स्थल प्रचारजस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष राईले बताए ।
संस्थाको कार्यालय धरान–१५ मा छ । वडा कार्यलयको सहयोगमा गणतान्त्रिक बस्तीमा उपमहानगरको अनुमति प्राप्त गरेर कार्यालय सञ्चालनमा ल्याइएको हो । तर, भवनको अभाव थियो ।
हलसहितको भवन निर्माण गर्न लागिएको राईले बताए । उनका अनुसार धरान–१५ स्थित चुम्लुङ हिम सभाहलमा हुने सांगीतिक साँझबाट प्राप्त रकम भवन निर्माणमा खर्च गरिने छ ।























