‘सैलुनको कुर्सीबाट सुरु भयो संघर्ष, अहिले सौन्दर्य पेसामा छुट्टै पहिचान’ (भिडियोसहित)

Share this
721shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन १४, बुधबार १२:५१

विराटनगर । सैलुनको कुर्सीमा आमाले बनाइदिएको जुरो हेरिरहँदा ती बालिकाको कल्पनामा संसारै थिएन । तर, रोजी शरण सैलुनको कुर्सीमा बसेर आमाले बनाइदिएको जुरो हेर्दै हुर्केकी थिइन् ।

आँखाले हेर्दै गइन् आमाको सिप, हातको चल, अनुहारमा मसाज गर्ने तरिका र ग्राहकसँगको व्यवहार । अहिले ब्युटी क्षेत्रमा नयाँ उज्यालो बनेकी रोजी शरण त्यतिबेला बालिका नै थिइन् ।

१२ वर्षको उमेरमै कपाल काट्न, अनुहारमा मसाज गर्न सिकेकी रोजीले कहिल्यै औपचारिक तालिम लिइनन् । नकहिल्यै तालिम लिन गइनन्, न त कुनै योग्यताको प्रमाणपत्र नै हात पारिन् ।

तर, आमाबाट सिकेको ज्ञान, अभ्यास र व्यवहारले उनलाई आत्मनिर्भर मात्र बनाएको छैन, सफल उद्यमी र प्रशिक्षकको रुपमा स्थापित पनि गराएको छ । आमाले गरेको काम र अनुभवको पाठशालामा हुर्किएकी उनले आमाको छाया, हातको चाल, ग्राहकसँगको व्यवहार, हरेक क्षणमा व्यावसायिकताको बिउ रोपिन् ।

‘सर्टिफिकेट’ नभए पनि अनुभवको प्रमाणपत्र सानै उमेरमा पाएकी रोजी अहिले विराटनगरस्थित ‘स्पार्कल ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर’की सञ्चालिका हुन् । विराटनगरको बाटा रोडस्थित यो एकेडेमी आज धेरै युवतीहरूको आत्मनिर्भरता र आत्मविश्वासको आधार बनेको छ ।

२३ वर्षीया रोजीका अनुसार उनी जब बच्चा थिइन्, आमा वविता शरणले ब्युटी पार्लर चलाउँथिन् । रोजी पनि सँगै जान्थिन्, हेर्दै र सिक्दै बस्थिन् । त्यसैबाट सिकेको रोजी बताउँछिन् । विद्यालय पढ्दै गर्दा नै उनी आर्थिक रूपमा स्वतन्त्र बनिसकेकी थिइन् । पकेट खर्चको लागि कहिल्यै माग्नु परेन ।

सप्तरीको कन्चनपुर गाउँबाट आमाले छोरीहरूलाई उज्यालो भविष्य दिन विराटनगर ल्याएको निर्णयप्रति उनी गर्व गर्छिन् । ‘ममीले हिम्मत गरेर विराटनगर ल्याउनुभएको थिएन भने म आज यहाँ हुने थिइनँ,’ उनी भन्छिन् ।

रोजीले विज्ञान विषयमा अध्ययन गरिन् । तर, ब्युटी पेसा रोज्नुको कारण प्रष्ट पार्दै उनी भन्छिन्, ‘डर्मेटोलोजी र कस्मेटोलोजी परिपूरक हुन् । दुवैसँगै काम गर्दा नतिजा राम्रो आउँछ ।’

उनले भारत लगायतका देशमा डर्मेटोलोजिस्टहरूले कस्मेटोलोजिस्टसँग सहकार्य गर्ने अभ्यासबारे जानकारी राखेकी छन् । नेपालका विभिन्न सहरहरू दमक, पोखरा, काठमाडौं लगायतका स्थानमा यो अभ्यास फैलिँदै गएको उनी बताउँछिन् ।

रोजीका अनुसार ब्युटिसियन भन्नाले केवल थ्रेडिङ गर्ने वा फेसियल मात्र गर्ने व्यक्ति होइन । छालाको अवस्था बुझ्ने, ग्राहकको मानसिक अवस्था आत्मविश्वासमा परिणत गरिदिने सर्जक हो । यही आत्मबोधका साथ उनी अहिले सयौं युवतीलाई प्रशिक्षित गर्दैछिन् ।

तर, रोजीका लागि यो पेसा सजिलै रोजिएको थिएन । मधेसी समुदायमा हुर्केकी उनका लागि ‘धागो चलाउने काम’लाई पेसा बनाउने भन्ने कुरा सजिलो थिएन । समाजले ‘लाज मान’, ‘अरु राम्रो काम गर’ भन्ने सल्लाह दिन्थ्यो। तर, आमाको विश्वास र साथले उनलाई हरेक बाधा पार गर्न सक्ने आत्मबल दियो ।

‘हामीलाई बुवाको भन्दा आमाको आम्दानीले विराटनगरमा पढ्न र बस्न मिलेको हो । तर, बुवाको पनि साथ थियो,’ उनी सम्झिन्छिन् ।

आमा ववितासँग रोजी शरण ।

रोजीले १९ वर्षको उमेरमै ‘स्पार्कल ब्युटी एकेडेमी’ सुरु गरिन् । त्यो पनि कुनै सहज परिस्थितिमा होइन, कोभिड महामारीको जटिल समयमा । सबै क्षेत्र ठप्प भएका बेला उनले सैलुन सुरु गरिन् । ‘मानिसहरूले भन्थे,यो त फसाउने काम हो, चल्दैन । तर, मैले सुरुदेखि नै राम्ररी चलाएँ,’ उनी गर्वका साथ बताउँछिन् ।

त्यो संकटको समयमा उनले युवतीहरूलाई न्यून शुल्कमा तालिम दिन थालिन् । सस्तोमा तालिम दिएर पनि गुणस्तरीय दक्षता प्रदान गरेकी उनले थुप्रै महिलाहरूलाई आत्मनिर्भर बनाउने अवसर दिइन् । यही प्रतिबद्धता र साहसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्ने हिम्मत दियो ।

अहिले उनी भारतमा सौन्दर्यसम्बन्धी पढाइमा व्यस्त छिन् । प्रविधि, ट्रेन्ड, मेकअप हाइजिन, स्किन एनालाइसिस, फेस सिमेट्रीलगायत विषयमा अपडेट भइरहेकी छन् ।

उनको मेकअपले सजिएका अनुहारहरू विवाहमा, फोटोसुटमा, कार्यक्रमहरूमा देखिन्छन् । ती अनुहारहरूमा देखिने आत्मविश्वास नै उनको सबैभन्दा ठूलो सफलता हो ।

आज वविता सरण गर्वका साथ आफ्नी छोरीलाई हेर्छिन् । उनले सुरु गरेको यात्रालाई नयाँ उचाइमा पुर्‍याउने छोरीप्रति उनी भावुक पनि छन् । गर्व पनि गर्छिन् ।

‘ब्युटी पार्लर केवल पैसा कमाउने होइन । आत्मसम्मान दिने पेसा हो,’ रोजी भन्छिन्, ‘म यही पेसाबाट देशभित्र र बाहिर दुवै ठाउँ सम्भावना देख्छु ।’ आमाको सिप, छोरीको आँट र सयौं महिलाको सपनाले जन्माएको यो सफलताको कथा नेपालमा सौन्दर्य व्यवसायलाई हेर्ने दृष्टिकोण नै बदल्न सक्ने उदाहरण बनेको छ । रोजी आज केवल एउटा मेकअप आर्टिस्ट होइनन् — उनी आत्मनिर्भरता, समर्पण र सम्भावनाको नाम बनेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.