
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २ ठूला दल मिलेर बनेको अहिलेको सरकारको विकल्प नभएको बताएका छन् ।
विराटनगरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकारको विकल्प नभएको स्पष्ट पारे । ‘ठूला दलहरू मिलेर बनेको सरकारको विकल्प अरू कुन हुन्छ ? सरकारले जनताको भावना अनुसारको काम गर्न सकिरहेको छैन । तर, पनि हामी यो सरकार २०८४ सम्म टिकोस् भन्ने चाहन्छौँ,’ उनले भने ।
सबै खेल अंकमा हुने भएकोले सरकारको विकल्पका लागि संसदमा बहुमत हुनुपर्ने बताउँदै उनले कसैले पनि बहुमत पुर्याउन सक्ने अवस्था नभएकाले यो सरकारको विकल्प नभएको उल्लेख गरे । ‘हामी राजनैतिक गर्ने सबैले एकअर्कासँग भेटघाट र छलफल गरिरहनु पर्छ । दल वा नेताहरूबीचमा छलफल र भेटघाट हुनु स्वाभाविक हो,’ नेता कोइलालाले भने , ‘दल–दल र नेता–नेताबीच भेटघाट, छलफल र संवाद हुनु जरुरी हुन्छ । यसलाई स्वाभाविक लिनुपर्छ । पहिले माओवादी र कांग्रेस सरकारमा हुँदा मैले ओलीजीलाई भेटिरहेको थिएँ ।’
विद्या भण्डारी राष्ट्रपति हुँदा पनि भेटेको र राष्ट्रपतिबाट हटेपछि पनि भेटघाट भइरहेको कोइरालाले बताए । भने, ‘तर, अहिले किन प्रश्न ? पहिले ओलीजीसँग भेट्दा कसैले प्रश्न नगर्ने अहिले चाहिँ किन प्रश्न ? लुकेर भेट्ने कुरा अलग्गै हो । त्यो कसैले गर्छन् होला । तर, म कसैसँग लुकेर भेटघाट गर्दिन खुलेरै भेट्छु ।’
सुशासनका विषयमा आफूले जति कांग्रेसमा कसैले पनि नबोलेको उनले बताए । कर्मचारी विधेयकमा कुलिङ पिरियडको विषयमा सांसदहरूको पनि गल्ती भएको भन्दै उनले भने, ‘नपढी विश्वास गरेर पास गर्नु हुँदैन थियो । कुलिङ पिरियडको विषयमा समितिका सभापति र एमाले मुख्य दोषी छन् ।’
नेता कोइरालाले भने, ‘कुलिङ पिरियडको गडबडीमा हाम्रो पनि दोष छ । हामीले नपढी पास गर्न हुँदैन थियो । तर, मुख्य दोष समितिका सभापति र एमाले नेतृत्वको हो । एमालेले राष्ट्रियसभामा कुलिङ पिरियड हटाउन माग गर्दै संशोधन पेस गर्नुले गडबडीमा एमालेको संलग्नता स्पष्ट भएको छ ।’
प्रधानमन्त्रीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेको बताउँदै कोइरालाले १ वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको र अहिले संविधान संशोधन वा पुनरावलोकनको कुरो हराइसकेको उल्लेख गरे । संवैधानिक परिषदमा २–३ जनाले मात्रै निर्णय गर्न सक्ने गरी पारित भएको विधेयक ‘खतरनाक’ रहेको कोइरालाको भनाइ छ ।
राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएकोले त्यसमा थप छलफल हुनुपर्ने उनले बताए । मुलुकको संविधानले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन छुट दिएको कोइरालाको भनाइ छ ।
‘तर, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा आउन हुँदैन,’ उनले व्यक्तिगत रूपमा उनीहरू राजनीतिमा नफर्किँदा राम्रो हुने सुझाव कोइरालाको छ । ‘उनीहरू फर्कन चाहेमा कसैले रोक्न सक्दैनन् । तर, राजनीतिमा नआउँदा धेरै राम्रो हुन्छ,’ नेता कोइरालाले भने ।
























