राष्ट्रियसभा बैठकमा निदाए मन्त्रीहरु

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार १५:२३

काठमाडौं । राष्ट्रियसभाको आज (बुधबार)को बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी महत्त्वपूर्ण अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल भइरहेको बेला मन्त्रीहरू निदाएका छन् ।

मन्त्रीहरु निदाएको दृश्यले संसदीय मर्यादा र गम्भीरतामाथि प्रश्न उठाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई छलफलकै बीच निदाएका थिए ।

पौडेलको दायाँतर्फ प्रधानमन्त्री केपी शर्मा ओली छन् । तर, उनी भने निदाएका छैनन् । ओलीले भने ध्यान दिएर बैठकलाई सुनिरहेको देखिन्छ ।

सांसदहरू प्रतिवेदनका बुँदामाथि धारणा राख्दै थिए । तर, त्यही बेला ३ जना मन्त्री स्थिर मुद्रामा कुर्सीमा टाउको लट्काएर बसेका देखिन्थे । सरकारका मन्त्रीहरुकै यस्तो व्यवहारले बैठकको गम्भीरता कमजोर बनाएको भनेर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

मन्त्रीहरूको निदाएको भिडियो र तस्बिर पनि भाइरल भइरहेको छ । निदाएका तीनै मन्त्री नेपालले प्राप्त गरेको अन्तर्राष्ट्रिय मान्यताबाट विकासशील राष्ट्रमा उक्लन लागेको अवस्थाको समीक्षा र तयारीसम्बन्धी छलफलमा गम्भीरतापूर्वक सहभागी नहुनु विडम्बनापूर्ण भएको टिप्पणी गरिएको छ ।

राष्ट्रियसभा बैठकमा सांसदहरूले नेपालले अब थप जिम्मेवारी, आर्थिक नीतिगत स्वाधीनता र अन्तर्राष्ट्रिय व्यापारिक प्रतिस्पर्धालाई कसरी सामना गर्ने भन्ने विषयमा तयारी गर्नुपर्ने तर्क गर्दै थिए । तर, कार्यकारी प्रमुखहरूकै गम्भीरता नदेखिनुले सरकारकै प्राथमिकतामाथि प्रश्न उठेको हो ।

संसद बैठकमा मन्त्रीहरूको गैरजिम्मेवार व्यवहार समय–समयमा आलोचना हुने गरेको भए पनि यस्तो संवेदनशील विषयमा समेत उनीहरू निदाउनुले थप चिन्ता बढाएको छ । सांसदहरूले अब संसदीय मर्यादाको रक्षा गर्न मन्त्रीहरूले पनि आफ्नो भूमिकाप्रति उत्तरदायी हुनुपर्ने माग राखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.