
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेको छ ।
पार्टी संरक्षकसमेत रहेका रेशम चौधरी पक्षीय बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो । अध्यक्षबाट हटाउनका लागि नाउपाले निर्वाचन आयोगमा पनि पत्र पठाएको छ ।
आफ्ना श्रीमान् रेशम चौधरीलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै अदालतमा श्रेष्ठले जवाफ पेश गरेकी थिइन् । पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्दै भनेकी थिइन्, ‘जन्मकैदको सजाय भोगी कारागारमा बसेको अवस्थामा राजनैतिक दलको सदस्यता प्रदान हुने अवस्था थिएन र छैन । महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिने कुरा त परै जाओस् निजले संगठित सदस्यता प्राप्त गरी महाधिवेशनमा भाग लिन पाउने अवस्था समेत छैन ।’
निर्वाचन आयोगले पहिलो महाधिवेशनबाट रेशमलाई अध्यक्ष बनाउने निर्णय अस्वीकार गरेको थियो । त्यसविरुद्ध रेशम अदालत गएपछि रञ्जिताले लिखित जवाफ दिदा अध्यक्ष हुन अयोग्य रहेको भेनकी थिइन् ।
अध्यक्षबाट पदमुक्त गरेपछि रञ्जिताले भने बहुमत केन्द्रीय सदस्यकाे निर्णय विधान विपरित भएका कारण अमान्य हुने बताएकी छन् ।
























