
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले आफू अझै पनि पार्टीको अध्यक्ष रहेको दाबी गरेकी छन् । हालै बसेको भनिएको पार्टीको राष्ट्रिय भेलालाई उनले अमान्य ठहर गरिन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको बैठकमा सहभागी भई बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त भनाइ राखेकी हुन् । श्रेष्ठले पार्टीको विधानअनुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्र हुने स्पष्ट पार्दै आफूले कुनै पनि बैठक वा भेला आह्वान नगरेको बताइन् ।
उनले भनिन्, ‘म अध्यक्ष हुँ, पार्टीको विधानअनुसार मैले कुनै भेला बोलाएकी छैन । त्यसैले विधानविपरीत बसेको भेलाको कुनै मान्यता छैन ।’ उनले पार्टीभित्रको विवादबारे आफूलाई जानकारी नरहेको दाबीसमेत गरिन् ।
‘म त निरन्तर आफ्नो काममा लागिरहेकी छु,’ उनले भनिन्, ‘केही विवाद छ भन्ने पनि थाहा छैन । मैले कुनै भेला बोलाएकी छैन ।’ नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा नेतृत्वको विषयमा मतभेद देखिए पनि अध्यक्ष श्रेष्ठले आफू अझै पदमा कायम रहेको र बाहिर भइरहेका गतिविधिहरू पार्टीको औपचारिक निर्णय नभएको दाबी गरेकी छन् ।
























