
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्ने भएको हो। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भ्रमण स्वीकृत गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने भ्रमण दललाई आधिकारिक मान्यता दिँदै नेपाल सरकारले आवश्यक तयारी गरिसकेको छ । बैठकले सिन्धुली सडकमा बाढीले क्षति पुर्याएको भन्दै त्यसको आपतकालीन पुनर्निर्माणका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्ब ८० करोड जापानी येन (झण्डै २ अर्ब ४५ करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिष्ट«ार विमल पौडेललाई मुख्य रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय भएको छ । पौडेल अब न्याय सेवा राजपत्रांकित विशिष्ट श्रेणीमा पर्ने मुख्य रजिष्ट्रार हुनेछन् ।
सरकारले लामो समयदेखि वर्षा नपरेर संकटमा परेका तराई–मधेशका किसानलाई राहत दिन भन्दै ती क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता गुरुङले किसानको पीडालाई सम्बोधन गर्न आवश्यक राहत तथा सुविधा सुनिश्चित गरिने बताए ।
उनले खरिद तथा निर्माण प्रक्रिया सहज बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै मन्त्रालयहरूलाई गम्भीर रूपमा लाग्न निर्देशन दिइएको जानकारी गराए । सरकार जनताको पीडामा संवेदनशील रहेको भन्दै उनले अनावश्यक रूपमा राजनीतिक स्टन्डबाजी नगर्न पनि आग्रह गरे ।
























