
विराटनगर । ताप्लेजुङमा निर्माणाधीन अपर तमोर जलविद्युत् आयोजनाका कामदारहरूको ब्यारेक तोडफोड भएको छ ।
निर्माणाधीन २ सय ८५ मेगावाट क्षमताको अपर तमोरका कामदारहरूको ब्यारेक तोडफोड भएको ताप्लेजुङ प्रहरी प्रवक्ता निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
उनका अनुसार जलविद्युतका कामदारहरू काम गर्न गएको मौकामा ब्यारेकमा केही व्यक्तिहरू आएर तोडफोड गरेका छन् ।
कामदारहरूको ब्यारेकमा १० / १२ जनाको समूहमा आएका व्यक्तिहरूले तोडफोड गर्दा ब्यारेकको १३ वटा झ्याल, ६ वटा ढोका र १ थान हलोजेन बत्ती फुटेको प्रहरीले जनाएको छ ।
तोडफोड गर्ने समूह फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कसले किन कामदारहरूको ब्यारेक तोडफोड गरेको भन्ने नखुले पनि आयोजना बन्न नहुने भन्दै लामो समयदेखि हाइड्रोपावर प्रभावित संघर्ष समितिले ३ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको छ ।
फुङलिङमा संघर्ष समितिले साउन ४ गते पत्रकार सम्मेलनमार्फत साउन ११ गतेसम्म हाइड्रोपावर र कोरिडोर परियोजनाका सवारी साधन, गाडी, मेसिनसहितको सामान फिर्ता लैजानुपर्ने बताएको थियो ।
घोषित कार्यक्रम माथि बल प्रयोग भएमा थप चरणबद्ध आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी दिएको थियो ।
घटनाको अनुसन्धान र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।























