‘बर्दीमा इतिहास रचेकी कुन्जाङ शेर्पा’

Share this
768shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन १६, शुक्रबार १६:३५

विराटनगर । कुन्जाङ छोपेल शेर्पा सोलुखुम्बुको विकट थुलुङ दुधकोशी गाउँपालिका–९ को सानो बस्तीमा जीवनको कठोरता र सीमितताबीच हुर्किएकी नेपाली चेली हुन् ।

दुर्गम भेगको छायाबाट अघि बढेकी उनले अभावलाई अवसरमा बदलिन् । आज उनी केवल नेपाल प्रहरीकी सई (प्रहरी नायब निरीक्षक) मात्र होइनन् । सम्पूर्ण प्रहरी संगठन र नेपाली महिलाहरूको प्रेरणा बनेकी छिन् । बर्दीमा विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो महिला प्रहरीका रूपमा उनले इतिहास रचेकी छन् ।

जहाँ उनी हुर्किइन्, त्यहाँ न सवारीसाधन थिए, न त टेलिभिजन । स्कुल भनेको पनि ५ कक्षासम्मको मात्रै थियो । समग्रमा त्यो ठाउँ राज्यको सेवा र सुविधाबाट अझै टाढा थियो र पूर्वको कर्णाली भनेर चिनिन्थ्यो । उनी भन्छिन्, ‘सडकको पहुँच त भर्खरै पुगेको हो ।’

सानैदेखि चौँरीगोठमा हुर्किएकी कुन्जाङले शिक्षाको अवसर र सरकारी जागिरको सपना त्यही दुर्गम भेगबाट देख्न सुरु गरिन् । तिनलाई लोकसेवा आयोग के हो भन्ने थाहा पनि थिएन । एकदिन स्कुलका शिक्षकले उनको कपी जाँच्दै भने, ‘कुन्जाङले लोकसेवा दिइ भने पास गर्छे ।’ त्यति मात्र उनले सुनेकी थिइन् । तर, फौजी बन्ने सपना भने सानैदेखि बोकेकी थिइन् ।

उच्च शिक्षाका लागि उनी सोलुखुम्बु छोडेर काठमाडौं लागिन् । १२ कक्षापछि साथीहरूले आयल्स पढ्ने र विदेश जाने योजना बनाए । लोकसेवाको किताब समातेर फौजी बन्ने सपनाको उडान भर्ने तयारीमा उनी एक्लै थिइन् । तर, के पढ्ने र कसरी पढ्ने थाहा थिएन । संयोगले आर्मी अफिसर बन्ने तयारी गरिरहेका केही साथी भेटिए । उनी भन्छिन्, ‘त्यसपछि म पनि त्यसैको तयारीमा लागें ।’

आर्मी अफिसरको परीक्षा पास भएपनि अन्तर्वार्तामा सफल हुन नसक्दा उनको सपना टुट्यो । ‘त्यसपछि म निराश भएँ । नेपालमा बसेर केही हुँदैन भन्दै आयल्स गर्नुपर्छ भन्ने साथीहरु सम्झिन थालें,’ उनले विगत सम्झँदै भनिन् ।

त्यसैबीच कोरोनाको कहर आयो । त्यही बेला खुल्यो प्रहरी सहायक निरीक्षक (असई)को फारम । उनले फारम भरिन् । तर, परिवारभित्र कसैलाई पनि थाहा थिएन । उनका अनुसार प्रहरी अधिकृतमा नाम निस्किएपछि समाजिक सञ्जालमा बधाईको आइरो लाग्न थाल्यो ।

उनी भन्छिन्, ‘पछि थाहा भयो मैले खुला, महिला र आदिवासी कोटाबाट पास गरेछु ।’ त्यसपछि परिवारलाई आफू प्रहरी अधिकृत भएको कुरा बताएको उनी सुनाउँछिन् ।

निराशाको बीचमा पाएको खुसी र बाल्यकालमा देखेको सपना पूरा हुँदा उनी आफैँ कति खुसी थिइन्, शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन् । विगतका दिनहरूमा बुवाको अनुहारमा झल्किने अभावको रेखा उत्रिरहेको देखिन् ।

आफ्ना दाजुहरू पैसाको अभावले पढ्न नपाएको पीडा अझै मनको ‘ग्यालरी’मा कैद भएर बसेको छ । सायद त्यही पीडाले उनलाई अडिग बनायो, लड्न सिकायो । आफू शेर्पा समुदायकी प्रतिनिधि भएर सरकारी सेवामा पुगेको देख्दा उनी मात्रै होइन, समुदायभित्र खुसीको सीमा रहेन ।

शेर्पा समुदायमा भाषा सम्बन्धी समस्याका कारण लोकसेवा परीक्षामा पास हुन कठिनाइ हुन्छ। उनी भन्छिन्, ‘त्यसैले हाम्रो समुदायमा सरकारी जागिरेको संख्या कम छ ।’ तर, उनको मनमा एउटा प्रश्न गहिरो गरी गाडिएको थियो, ‘प्रशिक्षणका बेला होस् वा कोचिङ कक्षामा जाँदा ‘शेर्पा त हिमाल चढ्ने हो, तिमी लोकसेवामा कसरी आयौ ?’

ती शब्दहरू घाउजस्तै थिए । तर, त्यही घाउले उनलाई अझ बलियो बनायो । उनी भन्छिन्, ‘मैले न केवल सरकारी जागिर पाएँ । मैले सगरमाथा पनि चढें।’

उनले २०८२ साल जेठ ५ गते सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोहोरो स्वर्ण विजेता मन्डेशब काजी श्रेष्ठको तस्बिर र ‘महिलाविरुद्धको हिंसा अन्त्य गरौँ’ भन्ने नारासहितको ब्यानर बोकेर उनले चुचुरो पुगिन् । ब्यानर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले चैत २५ गते हस्तान्तरण गरेका थिए ।

अरु सबैभन्दा बढी, ‘महिलाविरुद्धको हिंसा अन्त्य गरौँ’ भन्ने नारासहितको ब्यानर सगरमाथाको शिखरमा पुर्याएको क्षणलाई उनले जीवनकै सबैभन्दा गर्विलो उपलब्धि ठानिन्छ। उनी भन्छिन्, ‘त्यो सन्देश फैलाउने अन्तिम विन्दु सगरमाथा नै थियो । त्योभन्दा माथि अरु कुनै भूगोल होलाजस्तो लाग्दैन ।’

त्यही सफल आरोहणपछि उनलाई असईबाट सईमा विशेष बढुवा गरिएको हो । हिमाल चढ्न मनोबलसँगै आर्थिक बल पनि आवश्यक रहेको उनी बताउँछिन् ।

उनले हिमाल आरोहण गर्दा गहना बेचिन् । सञ्चय कोषको पैसा निकालिन् । अनि शेर्पा समुदायले सहयोग जुटाए त्यसपछि सगरमाथाको यात्रा सम्भव भयो । त्यसो त हिमालको यात्रा सजिलो थिएन । प्रत्येक सेकेन्डमा ज्यानको बाजी थाप्नु पर्ने हुन्छ । तर, हार्न आफूलाई छुट नभएको उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘म संगठनको ‘ट्याग’ बोकेर गएकी थिएँ । प्रहरी थाके भने अरूले के सोच्छन् ? त्यसैले मलाई थाक्न छुट थिएन । म थाके भन्न मिल्दैन थियो ।’ उनले हिमालमा ५ वटा आरोहीको शव देखेको पनि सुनाइन् । उनका अनुसार केही शवमा त टेकेर जानुपर्ने हुन्छ । त्यसको विकल्प नै हुँदैन ।

उनको भनाइमा सगरमाथाको शिखरमा बढ्दो तापक्रमको असर प्रस्ट देखिन थालेको छ । हिउँ पग्लँदै जाँदा वर्षौंदेखि हराएका, पुरिएका आरोहीका शव देखिन थालेका छन् । कतै हातखुट्टा देखिन थालेको छ । उनी भन्छिन्, ‘जलवायु परिवर्तनको असर विस्तारै हिमशृङ्खलामा देखिन थालेको छ । यसतर्फ ध्यान पुर्याउन जरुरी छ।’

हिउँको चिसोभन्दा मनको ताप बलियो बनाएर सगरमाथाको आरोहण गर्नुपर्ने उनको अनुभव छ । आरोहणका क्रममा अनुभवी आरोहीहरूले बारम्बार सम्झाउँथे, ‘एकोहोरो नहुनु, निदाउन हुँदैन ।’

उनले अनुभव सुनाउँदै भनिन्, ‘हिमाल आरोहण प्रत्येक सेकेन्ड जीवन र मृत्युबीचको सीमारेखा हो ।’ त्यही अनुशासन र सावधानीले उनलाई सगरमाथाको चुचुरोमा पुर्यायो । त्यसो त उनले आफ्नै नाम ‘द कुञ्ज’ दिएर क्याप ब्रान्डिङ गरिरहेकी छिन् ।

हिमाल चढेर फर्किँदा बढुवा भएपछि उनले क्यापमा २ तारा पनि समावेश गरिन् । त्यो क्यापको हरेक रंगको अर्थ रहेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘यो परिवारका लागि व्यवसायिक यात्रा पनि हो ।’

यो व्यवसाय आर्जनका लागि मात्र नभएर आर्थिक अभावमा परेका बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि पनि रहेको उनी बताउँछिन् । उनका अनुसार क्याप व्यवसायबाट भएको आम्दानी सहिद, अमर प्रहरी र तल्लो दर्जाका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने योजना छ।

आफ्ना दाजुहरूले पढ्न नपाएको पीडालाई भविष्यमा दोहोरिन नदिनु उनको संकल्प हो । ‘संघर्ष के हो ? अभाव के हो ?,’ मैले भोगेकी छु, ‘मेरो दाइहरुले पढ्न भएको भए के हुन्थ्यो ? तर, पढ्ने पैसा नै थिएन ।’ प्रहरी संगठनप्रति र शेर्पा समुदायप्रति उनी गहिरो कृतज्ञता व्यक्त गर्छिन् । भन्छिन्, ‘संगठनले मलाई के दियो भन्दा पनि संगठनलाई के दिन सक्छु ? भन्ने सोचिरहेकी छु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.