
विराटनगर । नेकपा एमाले विराटनगर महानगरकाे १७ वटा वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । १९ वडा मध्ये शनिबार एकै दिन १७ वडाकाे अधिवेशन सम्पन्न भएको हो । २ वडाको अधिवेशन भने स्थगित भएको छ ।
नेकपा एमाले विराटनगर सचिव विज्ञान चापागाईंका अनुसार १४ वडा कमिटीमा सर्वसम्मत चयन भएको छ । ३ वडामा भने मतदान भएको छ ।
महानगरको वडा नम्बर ७ र ९ को वडा अधिवेशन भने साउन २५ गते भित्र गर्नेगरी स्थगित भएको चापागाईंले जानकारी दिए ।
महानगरको वडा अधिवेशनमा जिल्ला र महानगरको अधिवेशन जस्तै संस्थापन र विनोद ढकाल समूहको लाइन देखिएको थियो । एमाले नेता ढकाल विद्यादेवी भण्डारीको पक्षमा छन् । यसअघि महानगर अधिवेशन र जिल्ला अधिवेशनमा विनोद ढकाल समूह विजयी भएको थियो । नयाँ नेतृत्व चयन भएका १६ वटा वडा मध्ये २ वटा संस्थापन पक्ष आएको छ ।
तेश्रो वडा अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा इश्वर रिजाल, २ मा प्रविणचन्द्र कर्ण, ३ मा इश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी, ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्वत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी सर्वसम्मत भएका छन् । ९ वटा वडा कमिटीमा अध्यक्षहरुमा पुन दोहोरिएका हुन् ।
विराटनगरको वडा नम्बर ४, १० र १४ को नेतृत्वका लागि भने मतदान भएको हो ।
निर्वाचन भएको वडा नम्बर १० मा कृष्ण तिम्सिना विजयी भएका छन् । वडा नम्बर १४ मा सन्तोष शर्मा निर्वाचित भए । वडा नम्बर ४ को नतिजा आउन बाँकी छ ।
























