
दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौतापछि माओवादी पार्टीलाई विभाजन गर्न निरन्तर षड्यन्त्रहरू भइरहेको आरोप लगाएका छन् ।
दोलखामा आइतबार आयोजित ‘बोत्ले हत्याकाण्ड’ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले माओवादीलाई कमजोर बनाउने प्रयत्नस्वरूप पटक–पटक षड्यन्त्र, जालझेल र लगानी गर्दै आएको दाबी गरे । ‘शान्ति प्रक्रियामा आएको दिनदेखि नै हामीमाथि आन्तरिक र बाह्य आक्रमणहरू भइरहेका छन् । पार्टीलाई विभाजन गर्न सुनियोजित रूपमा जाल बुन्दै लगानी गर्ने काम भइरहेको छ,’ उनले भने ।
प्रचण्डले देशमा फेरि नयाँ आन्दोलन र विद्रोहको आवश्यकता देखिएको उल्लेख गर्दै त्यसका लागि पार्टी तयार भइरहेको बताए । उनले भने, ‘हामी फेरि नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्न दृढ संकल्पका साथ अघि बढ्दैछौं । मेरो प्रतिबद्धता पनि यही हो । तयारी पनि गरिरहेको छु ।’
उनले माओवादी युद्धको योगदान र सहिदहरूको बलिदानलाई अपमानित गर्ने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यो प्रवृत्तिविरुद्ध सावधानी अपनाउनुपर्ने बताए । ‘देशका सबैजसो जिल्लामा हजारौं सहिदहरूको रगत बग्यो । तर, अहिले ती महान योगदानलाई खारेज गर्ने कसरत भइरहेको छ,’ उनले भने ।
प्रचण्डले पार्टीभित्रको असन्तोष, राज्यसंयन्त्रको असहयोग र बाह्य हस्तक्षेपका कारण माओवादी आन्दोलन दबाउने षड्यन्त्र भइरहे पनि पार्टी अझ सशक्त रूपमा अघि बढ्ने स्पष्ट पारे ।
























