भिजिट भिसा काण्ड छानबिनको माग गर्दै रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १३:५१

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै दुवै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए । सभामुखले रास्वपाका सांसद अशिम शाहलाई बोल्ने अनुमति दिएपछि शाहले सरकारलाई पटक–पटक समितिको माग गरिए पनि बेवास्ता गरिएको आरोप लगाए ।

उनले भिजिट भिसा काण्डमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन नगरेसम्म संसद बैठकमा सहभागिता जनाउन नसकिने चेतावनी दिए ।

त्यसपछि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले आफूहरूले पनि लामो समयदेखि सोही माग राख्दै आएको बताए । तर, सत्ता पक्षले निरन्तर बेवास्ता गरिरहेको उनको भनाइ छ । उनले मन्त्रिपरिषद्‌का कतिपय सदस्य नै विभिन्न काण्डमा मुछिएको दाबी गर्दै सरकारको नैतिकता र जवाफदेहिता प्रश्नमा परेको टिप्पणी गरे ।

शाह र प्रधानको अभिव्यक्तिपछि रास्वपा र राप्रपाका सम्पूर्ण सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए । बैठक बहिष्कारसँगै दुवै दलले संसदमा आफ्नो निरन्तर विरोध कायमै रहने संकेत दिएका छन् ।

भिजिट भिसा प्रकरण छानबिनको मागलाई सत्ता पक्षले गम्भीरतापूर्वक नलिएको विपक्षी दलहरूको आरोप छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.