
काठमाडौं । संसदीय छानविन समितिले संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियड गडबडीमा नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ ।
संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको पनि छानबिन समितिको निष्कर्ष छ ।
राज्य व्यवस्था समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभामा जाँदा समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर थियो । त्यसैले समितिले छानबिन प्रतिवेदनमा उनीहरुको नाम किटान गरेको छ ।
मुख्यसचिव र कर्मचारीहरुको हकमा पदीय र कानुनी जिम्मेवार हुने भएकाले सोही अनुसार जिम्मेवार हुने व्यहोरा प्रतिवेदनमा उल्लेख छ । नाम भने प्रतिवेदनमा किटान गरिएको छैन ।
आज बिहान चार बजे छानबिन प्रतिवेदन लेखन टुंग्याएर समितिले सर्वसम्मत पास गरेको समिति सदस्य एवम् नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले बताइन् ।
























