‘चटपटेको ठेलामा जीवनको मिठास’

Share this
737shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन २२, बिहीबार १६:३९

विराटनगर । चटपटेको ठेलाबाट निस्कने मसलेदार बास्नाजस्तै विमालादेवी बानिया भण्डारीको जीवन पनि तिक्तता र मिठासको मिश्रण हो ।

उनले चटपटे बेच्दै बिताएका ७ वर्षले सुखदुःखका अनगन्ती स्वादहरु चाखे । त्योसँगै आत्मनिर्भरताको परिकार पनि आफैं पकाइन् । पतिले छोडेर गएपछि २ सन्तानको हात समाएर उनले जुन बाटो समातिन्, त्यो सजिलो थिएन । तर, अब त्यो सानो ठेला उनका लागि जीविकाको आधार मात्रै होइन, आत्मसम्मान र दृढताप्रतिको स्मारक बनिसकेको छ।

मोरङको रतुवामाई नगररपालिका–६ सिजुवाकी विमालादेवी अहिले विराटनगर महानगरपालिका–५ मुनालपथ चोकमा ठेलामा चटपटे बेच्छिन् । उनी ‘सिंगल मदर’ हुन् । उनी गर्वका साथ भन्छिन्, ‘छोराछोरी दुवैको आमा र बाबा मै हुँ ।’ उनी कुनै समय जागिर गरेर सन्तान पढाउँथिन् । छोरी बिरामी परेपछि जागिर छाडेर चटपटेको ठेला समाउन बाध्य भइन् ।

‘जिन्दगीमा गर्नै परेपछि गर्छु नि,’ उनी भन्छिन्, ‘यही ठेलाबाट नानी र बाबु पढाएको छु ।’ समाजिक सहयोग र आफ्नो कमाइले छोरीको उपचार उनी आफैंले गरिन् । मृत्युको मुखमा पुगेकी छोरी अहिले घरको काममा साथ दिन्छिन् । छोराले बोर्डिङ स्कुलबाट राम्रो अंक ल्याएर कक्षा १२ पास गरिसकेका छन् । उनी आशावादी स्वरमा भन्छिन्, ‘अब त बाबुले केही न केही गर्छ ।’

उर्जाशील उमेर पति र घर परिवारमा लगाइन् । तर, जब पतिले अर्को विवाह गरेर उनलाई छाडिदिए, अनि एकाएक एकल आमाको भूमिकामा रहनुपर्ने बाध्यता आइलाग्यो । परम्परागत समाजमा एउटी एकल महिलाले भोग्ने सामाजिक, मानसिक र आर्थिक संघर्षहरु विमालादेवीले पनि झेल्नुपर्यो । तर, उनले हार मानिनन् ।

कोभिड अघिसम्म व्यापार राम्रो चलिरहेको थियो । महामारीपछि आय घट्यो । तर, आत्मबल घटेन । अहिले छोरीलाई औषधि खुवाउनु नपरेकोमा उनी अलिक सहज महसुस गर्छिन् । यद्यपि, आर्थिक मन्दीको असरले सामान्य आम्दानीमा पनि धक्का पुर्याएको उनी सुनाउँछिन् ।

विदेश जाने सोच आएन ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘विदेश गए छोराछोरी बिग्रिएलान् भन्ने डर लाग्छ । आफूसँगै राखेर पढाउँदा राम्रो हुन्छ। यहीँ गरिखाने मान्छे हो म ।’ विमालादेवीको कथामा एउटा असाधारण पक्ष छ । उनले पतिलाई पढाउन घर सम्हालिन् । जब श्रीमान सफल भए, उनले विमालालाई नै छाडिदिए ।

‘मैले आमाजस्तै भएर पति (श्रीमान)लाई पढाएँ । उनी सफल भएपछि मलाई छाडे,’ भन्छिन् उनी । अब उनलाई त्यो सम्बन्धको याद छैन । तर, दुःखका समय थामेको हातसँगै सघाउनेहरुको साथ, माया र सम्मान गहिरो छ।

‘घरधनी पनि भगवान् सरह हुनुहुन्छ । म कतै जाँदा उहाँले नानी हेर्नु हुन्थ्यो,’ उनी भन्छिन् । चटपटेको मसलासँगै उनले जीवनका सबै स्वादहरु घोलेको ७ वर्ष बितिसक्दा अब त्यही ठेलामै आत्मसम्मान पाएकी छिन् । चटपटेको ठेलामा जीवनको मिठास बुझेकी छिन् ।

समान्य आम्दानीबाट पनि आत्मनिर्भर जीवन चलाइरहेकी छिन् । उनी भन्छिन्, ‘जसले जे भने पनि एक्लै भएर पनि जिन्दगी बनाइन्छ । यदि आत्मबल र सन्तानप्रतिको माया मनमा बलियो छ भने ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.